पेट

• नवराज रिजाल

शहीद मञ्चमा विचारगोष्ठी भइरहेको थियो । सभास्थलवरिपरि तुलहरूमा महिलाहरूविरुद्ध हुने हत्या, बलात्कार, लुट, अत्याचार, अनाचार, थिचोमिचो तथा शोषणको विपक्षमा नारा लेखिएका थिए र त्यो देख्दा लाग्थ्यो नारीहरू पुरुषको विरुद्ध समर मैदानमा छन् ।

केही महीना अघिदेखि जीवनयापनको निम्ति शरीर बेचिरहेकी शोभना ग्राहक खोज्दै त्यहीं आइपुगी । उसलाई त्यो परिवेश रोमाञ्चपूर्ण लाग्यो । क्षणभरमा आफूलाई भुली । तर नारी हक र अधिकारसम्बन्धी आवाज उठाउनेहरू सामान्यतः उसले देखे–भोगेभन्दा भिन्न थिए । भेषभूषाले बताउँथ्यो, तिनीहरू पाश्चात्य मुलुकका महिलाभन्दा कम छैनन् । तर पनि महिला हुनुको नातामा उनीहरूविरुद्ध भएका कामकारबाहीका सम्बन्धमा आवाज उठ्नुको कारण सभामा ऊ पनि निमग्न भई ।

सबैले आफ्ना मान्यता राख्दै गए । उसले ज्यादै थोरै बुझी, तर पनि अरूसँगै ताली बजाउन ढिलाइ गरिन् । समय निकै बितेको ख्यालै भएन । सभा विसर्जनपश्चात् उनीहरू पक्षमा फेरि नारा लाग्यो र शोभनाले पनि आवाज दिन भुलिन् । बेस्सरी कराइ, चिच्याइ मानौं ऊ आजैदेखि स्वतन्त्र हुँदैछे र एकै क्षणमा पखेटा फिंजाएर पारिपट्टिको वनमा कावाखान पुग्दैछे । उसलाई चुलोचौको र घरको चौघेराभित्रबाट उठ्नुपर्छ भन्ने वाक्य सा¥है उपयुक्त र सान्दर्भिक लाग्यो ।

ऊ विगततिर फर्की । आठ कक्षासम्म पढेकी थिई । शिक्षासँगै गाउँ भित्रिएको कुसंस्कारले उसलाई पनि छोयो । परिवार अशक्त भएकाले आवश्यकताहरू पूरा हुने कुरै थिएन । त्यसैले शहर पसी र कामको खोजीमा लागी, कतै केही पाउन सकिन । अन्त्यमा यौन व्यापार नै सजिलो पेशा लाग्यो र त्यतै आकर्षित भई ।

गोष्ठीका सदस्यहरू गन्तव्यतिर लाग्न थाले । कोही पनि पैदल थिएनन् । तिनीहरूको चालचलन, पहिरन, भेषभूषा तथा अघि तिनीहरूले दिएको भाषण मनमा तुलना गरी । यतिखेर साँझ झमक्क परिसकेको थियो । झल्याँस सम्झी आज त ग्राहक पनि खोजेको छैन । त्यसैले ऊ पनि छिटोछिटो रत्नपार्कको छेउछाउतिर आँखा दगुराउँदै भोटाहिटीतर्फ लागी ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्