बलिराम शुक्ला, बिरुवागुठी, ४ फागुन/
नेपाली काङ्ग्रेसको सय दिने अभियान आइतवार सम्पन्न भएको छ । पर्सागढी नगरपालिका–६ चैनपुरमा आज कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको हो ।
नेका पर्सा क्षेत्रीय कार्यसमिति–२ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य एवं सांसद डा शशाङ्क कोइरालाले समाज रूपान्तरणका लागि नेकाले सय दिन अभियान सञ्चालन गरेको बताए । उनले इमानदारिता, सहिष्णुताबाट मात्र समाज रूपान्तरण हुने यस कार्यलाई नेकाका नेता, कार्यकर्ताहरूले मनन गर्न जरुरी भएको बताए । उनले राजनीति आफ्नोलागि गर्न नहुने भन्दै यो जनताको लागि गर्ने हो भन्दै सोही अनुसारको चरित्र प्रस्तुत गर्न सुझाए । उनले नेका सभापति स्व सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपालको लोकतान्त्रिक संविधान निर्माण भएको र यसको कार्यान्वयन सबैले गर्नुपर्ने बताए ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून पास र संशोधन गर्नुपर्ने आफूमा जिम्मेवारी रहेको बताए । उनले बालविवाह, जबरजस्ती करणी जस्ता कानूनमा संशोधनका काम भइरहेको बताए । उनले यससम्बन्धी समस्या मधेसमा बढी रहेकाले संशोधनको तयारी भएको जानकारी गराए । मन्त्री चौरसियाले देवानी र फौज्दारीसम्बन्धी कानूनहरूमा पनि संशोधन हुने बताए ।
नेका पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति मोहमद सहाबुद्दीनको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, कार्यवाहक सभापति रामनारायण कुर्मी, प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, उपसभापति अशोक गुप्ता, पर्सागढीका पूर्वनगरप्रमुख लोकनारायण यादव, बहुदरमाई नपाका पूर्वनगरप्रमुख नितेन्द्र साह, उपप्रमुख अर्चना चौधरी, वीरगंज महानगरका सभापति मणिन्द्रलाल नेपाली, महिला सङ्घ पर्साकी सभापति किरण देवीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत पर्सागढी नगर कमिटीका सचिव अर्जुन गिरी र सहजीकरण क्षेत्रीय सचिव रञ्जीत पटेलले गरेका थिए ।