प्रस, वीरगंज, ४ फागुन/
नवौं प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फूटबल प्रतियोगिता भोलि फागुन ५ गतेदेखि वीरगंजमा हुने भएको छ ।
प्याब्सन पर्साले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सरोज चौधरीले भोलिदेखि शुरू हुने नवौं प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० क्रिकेट र जुनियर फूटबल प्रतियोगिता अन्तर्गत जुनियर फूटबल खेल मधेस प्रदेश विपद् व्यवस्थापन (पुरानो एसएसपी) कार्यालयको खेलमैदानमा र क्रिकेट नारायणी खेलमैदानमा हुने बताए । उनले फूटबलमा २० वटा विद्यालय र क्रिकेटमा २७ वटा विद्यालय सहभागी हुने बताए ।
उनले यसपटक महानगरबाहेक जिल्लाका ठोरी र धोबिनी गाउँपालिकाका विद्यालयहरू पनि खेलमा सहभागी भएको जानकारी गराए ।
प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रFैलाले फूटबल खेल फागुन ५ देखि १० गतेसम्म र क्रिकेट फागुन ५ देखि फागुन १४ गतेसम्म हुन बताए । उनले खेल अवधिभरका लागि सबै खेलाडीको रु २५ हजारको बीमा गरिएको बताए । प्रतियोगितामा क्रिकेटतर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५, १० र पाँच हजार तथा फूटबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः आठ, छ र चार हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने बताए ।
यसैबीच, प्याब्सन वीरगंज महानगरद्वारा हिजोदेखि शुरू छात्र र छात्राहरूको क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन माविले मिनील्यान्ड माविलाई नौ विकेटले पराजित गरेको महानगर अध्यक्ष राहुल श्रीवास्तवले बताए ।
पहिला ब्याटिङ गर्दै मिनील्यान्डले १० ओभरको खेलमा चार विकेट गुमाएर ८३ रन बनाएको थियो । प्रतिउत्तरमा अल्पाइन माविले एक विकेटको नोक्सानीमा ८७ रन बनाएर नौ विकेटले विजयी भयो ।
भोलि चारवटा खेल हुने उनले बताए । छात्रतर्फ गौतम मावि र सनलाइट मावि, वीरगंज एकेडेमी र चिल्ड्रेन वल्र्ड तथा छात्रातर्फ विद्यासागर मावि र गौतम मावि तथा वीरगंज एकेडेमी र सनसाइन एकेडेमीबीच हुने बताए ।