प्रस, रौतहट, ३ फागुन/
श्री माध्यमिक विद्यालय पथराको अधीनमा रहेको पोखरीको रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजूरी दिएका छन् ।
रौतहट जिल्ला राजदेवी नपा–१ स्थित श्री माध्यमिक विद्यालय पथराको आम्दानीको मुख्य स्रोत रहेका तीनवटा पोखरीको गरुडा नपा–८ बस्ने ठगा सहनीले २०७३ सालमा पाँच वर्षको लागि रु १६ लाखमा ठेक्का सकार गरेका थिए । ठेक्का अवधि सकिएपछि थप एक वर्षको लागि ठेक्का नवीकरण गरिएको थियो । तर थप गरिएको एक वर्षको ठेक्काबापतको रु पाँच लाख ठेकेदार सहनीले जम्मा नगरेको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । एक वर्षको रकम जम्मा नगरेका ठेकेदार सहनीले अहिले डेढ वर्ष बितिसक्दा पनि पोखरीको भोगचलन गर्दै आएका छन् ।
विद्यालय प्रशासनले पटकपटक पत्रद्वारा बक्यौता रकम बुझाउन सहनीलाई पत्राचार गर्दै आएको छ तर ठेकेदार सहनीले भने अटेर गर्दै आएका छन् । ठेकेदारविरुद्ध जिल्ला प्रशासन कार्यालय, रौतहटमा स्थानीय शिवमङ्गल यादवले उजूरी दिएका छन् । उनले थप एक वर्षको रकम नबुझाएका सहनीले अहिले डेढ वर्षभन्दा बढी समयदेखि पोखरीको भोगचलन गर्दै आएको हुँदा यसबारेमा छानबीन गरेर कारबाही गर्न यादवले माग गरेका छन् ।