प्रस, वीरगंज, २ फागुन/
कलैया उपमहानगरपालिका–९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको नवजन्म पुनस्र्थापना केन्द्रमा भएको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
कलैया–१ बैंकरोडस्थित केन्द्रमा रहेका मानिसहरूसँग उनको विवाद भएको थियो । विवादका बीच भएको कुटपिटबाट मण्डल घाइते भएका
थिए र उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा अहिलेसम्म नौजनालाई नियन्त्रणमा लिएको छ ।
केन्द्रमा रहेका स्थानीय सर्फराज मन्सुरी, नीरज सर्राफ,महम्मद आँशु मियाँ शेख, अरुण सर्राफ, साहिल अलि, परमेश्वर साह, सुरज शेख, तमन्ना अलि, सागर गुप्तालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । कुटपिटबाट मृत्यु भएका मण्डलका परिवारजन र आफन्तहरूले आज कलैयामा प्रदर्शन गरेका थिए । उनीहरूले मण्डललाई कुटपिट गरी हत्या गर्नेहरूविरुद्ध कडा कारबाईको माग गरेका थिए ।