नारायणी अस्पतालका ३४ जना चिकित्सक काजमा, अस्पतालको सेवा प्रभावित, सहायकबाट काम चलाइँदै

प्रस, परवानीपुर, १ फागुन/
नारायणी अस्पताल वीरगंजका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्न आनाकानी गर्दै आएको छ ।
नारायणी अस्पतालमा विभिन्न दरबन्दीमा नियुक्त चिकित्सक एवं स्वास्थ्यकर्मीहरू अस्पतालबाट काज लिएर विभिन्न अस्पतालहरूमा काम गर्दै आइरहेका छन् । अस्पताल प्रशासनले जनाए अनुसार १६ जना चिकित्सक, प्राविधिक, मेडिकल अधिकृत, नर्सिङ, स्टाफ नर्स, ग्यास्ट्रोलोजिस्ट, नेर्फाेलोजिस्ट, रेडियोलोजिस्ट, पिड्रियाट्रिशियन, डेन्टल सर्जन, ड्रमाटोलोजिस्ट, इएनटी सर्जन, ट्रपिकल फिजिसियन, एनेस्थेसियोलोजिस्ट गरी कुल ३४ जना स्वास्थ्यकर्मी नारायणी अस्पतालबाट विभिन्न मितिमा काज लिएर देशका अन्य सरकारी अस्पतालहरूमा काम गर्दै आएका छन् । नारायणी अस्पतालमा दरबन्दी भएको तर काजमा अन्य अस्पतालमा काम गर्दै आएका जनशक्तिलाई अस्पतालमा फिर्ता पठाउनका लागि मन्त्रालयमा पटकपटक पत्राचार गर्दै आएको तर अहिलेसम्म ३४ जना चिकित्सक, स्वास्थ्यकर्मीहरूको काज फिर्ता नगरिएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।

नारायणी अस्पतालमा बिरामीहरूको चाप बढ्दो छ । विभागीय शाखाहरूमा सम्बन्धित चिकित्सकहरूको अभाव रहेको छ । स्वास्थ्यकर्मीहरू अपुग छन् । सेवाप्रवाहमा समस्या देखिएको छ तर मन्त्रालयले अस्पतालमा दरबन्दी भएर विभिन्न सरकारी अस्पतालमा काजमा गएका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई भने फिर्ता पठाएको छैन ।

अहिले नारायणी अस्पतालका रेडियोलोजिस्ट डा पुष्पराज अधिकारी बिरामी बिदामा छन् र अहिले यो विभाग चिकित्सकविहीन छ । अर्का रेडियोलोजिस्ट डा दिवस सापकोटा भरतपुर अस्पतालमा काजमा छन् । अहिले यो शाखामा सहायकले काम गर्दै आएका छन् । यसैगरी, बिरामीहरूको शल्यक्रिया गर्नुपर्दा बेहोश गर्ने एनेस्थेसियोलोजिस्ट डा मञ्जु महर्जन पनि काजमा छिन् । परोपकार प्रसूति अस्पतालमा उनी काजमा छिन् र नारायणीमा सोसम्बन्धी चिकित्सक नहुँदा सहायकबाट बेहोश गराएर शल्यक्रिया गराइँदैछ । ग्यास्ट्रोलोजिस्टमा यो अस्पतालमा दरबन्दी रहेका डा अरुण ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा काजमा छन् । नेफ्रोलोजिस्ट डा नीरज ढकाल वीर अस्पतालमा काजमा छन् । डेन्टल सर्जन डा वर्षा थापा पनि लुम्बिनी प्रदेशमा काजमा छिन् । यसैगरी, छालारोग विशेषज्ञ डा आनन्द नेपाल गण्डकी प्रदेशको पोखरा क्षेत्रीय अस्पतालमा काजमा छन् भने अर्थाेपेडिक सर्जन डा भरतबहादुर खत्रीको नारायणी अस्पतालमा दरबन्दी रहे पनि उनी अहिले काजमा कहाँ छन् मन्त्रालयले खुलाएको छैन । सर्जरी ग्यास्टो इन्टेरोलोजिस्ट डा शरत पोखरेल वीर अस्पताल, इएनटी सर्जन डा सोनिकाधारी श्रेष्ठ पनि वीर अस्पतालमा काजमा छन् । बालरोग विशेषज्ञ अंशु झा, डा विनीता झा र डा ईश्वरीप्रसाद अधिकारीको दरबन्दी नारायणी अस्पतालमा भएपनि अहिलेसम्म हाजिर नै भएका छैनन् । ट्रपिकल फिजिसियन डा रूपेश पौडेल टेकु अस्पतालमा छन् भने डा मनीष पाण्डे जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत छन् । डा अलि अकबर राई पनि मधेस प्रदेशमा छन् भने डा गोपाल यादव पोखरिया प्रादेशिक अस्पतालमा छन् । डा सूर्यप्रताप रैदास लुम्बिनी प्रदेशमा छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले काजमा रहेका चिकित्सकहरूलाई मन्त्रालयले अहिलेसम्म काज फिर्ता गराउन नसकेको बताए । उनले आवश्यक चिकित्सकका लागि दुईपटक आवेदन माग गरिएको तर कुनै पनि चिकित्सकले चासो नदेखाएको बताए । उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभावमा सेवाग्राहीलाई पर्याप्त सेवाप्रवाह हुन नसकेको बताए । उनले यस समस्याको अविलम्ब समाधान गर्न मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्