ड्याम भत्किंदा बस्ती, खेत र रङ्गशाला जोखिममा

प्रस, निजगढ, १ फागुन/
पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित बकैया पुलको पक्की ड्याम भत्किएकोमा निजगढ नगरपालिकाले मर्मतसम्भारमा ध्यान दिएको छैन ।

वर्षामा बाढीले ड्याम कटान गरेपछि वडा नं ९ स्थित बकैयाटोल, क्रसर उद्योग रहेको स्थान, शहीद हीरालाल रङ्गशाला क्षेत्र समस्याग्रस्त देखिएको छ । गत वर्षायाममा बाढीले कटान गरी आर्यघाटमा क्षति पु¥याउन थालेपछि निजगढ नगरपालिकाले विपद् व्यवस्थापनको नाममा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढलाई गुहार गरेको थियो । त्यसपछि सशस्त्र प्रहरीको टोलीले प्लास्टिकको बोरामा बालुवा भरेर आर्यघाट जोगाएको थियो । तर हिउँदयाम बित्न लागिसक्दासम्म तारजालीलगायतका दिगो सुरक्षाका कार्य गर्न निजगढ नपाले चासो देखाएको छैन ।

त्यस बेला बाढीबाट हुने कटान रोक्न अल्पकालीन उपायका रूपमा राखिएका प्लास्टिकका बोरा घाम, पानी, चीसोका कारण अहिले मक्किएर बालुवा झर्न थालेको छ ।

निजगढ नपाले बर्सेनि खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न करोडौं रुपैयाँमा टेन्डर लगाउँदै आए पनि संरक्षणका कार्य नगर्दा राजस्व सङ्कलनको नाममा खोला उत्खनन बन्द गर्नुपर्ने प्रभावित क्षेत्रका वासिन्दाहरूले आवाज उठाउन थालेका छन् । पक्की संरचनाहरू बर्सेनि भत्किंदै बाढी बस्तीमा पस्न सक्ने सम्भावना बढ्दासम्म रोकथामका दीर्घकालीन उपाय नगर्नु दुःखद भएको स्थानीयको भनाइ छ । खोला ठेक्का लगाइ ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको अत्यधिक उत्खनन, दोहनले खोलाको सतह गहिरिएर पुल र आसपासका बस्ती संरक्षणका लागि निर्माण गरिएको पक्की ड्याममा बर्सेनि क्षति पुग्दै आएको छ । करीब पाँच दशक अघि पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणताका बकैया पुल, ड्याम तत्कालीन सोभियत सङ्घ सरकारको सहयोगमा निर्माण भएको र यस्ता महŒवपूर्ण संरचना नदीजन्य पदार्थ उत्खनन, दोहनका कारण भत्किनु विडम्बनापूर्ण रहेको स्थानीयहरू बताउँछन् ।

वर्षायाममा बाढीले कटान गरेको क्षेत्र हेर्न पुगेका निजगढ नपाका प्रमुख सुरथ पुरी हिउँदमा खोलाको भत्किएको संरचनाको मर्मतसम्भार वा नयाँ संरचना निर्माण गर्न भनी अहिलेसम्म फर्केर हेर्न नआएको प्रभावित क्षेत्रका स्थानीयहरू बताउँछन् ।

निजगढ नपाले चालू आव २०८१/८२ मा एक करोड तीन लाख ७६ हजार ७३० घनफिट नदीजन्य पदार्थ उत्खननको लागि न्यूनतम मूअकरसहित ११ करोड ७९ लाख ३४ हजार ३३२ रुपैयाँ ५८ पैसामा ठेक्का लगाएको छ । वार्षिक करोडौं रकममा खोला ठेक्का लाग्ने गरे पनि खोला संरक्षणमा निजगढ नगरपालिकाले चासो नदेखाउँदा बाढी प्रभावित क्षेत्रका स्थानीयहरूले नगरप्रमुखको आलोचना गरेका छन् ।
नगरपालिकाको बैठकमा पटकपटक बकैया खोलाको ड्याम र आर्यघाटको संरक्षणका लागि कुरा उठाएको तर नगरप्रमुख पुरीले चासो नराखेको वडाध्यक्ष रामचन्द्र कटुवालले आरोप लगाए । वर्षायाम अघि नै बाढी रोकथामका उपाय नगर्ने हो भने मानवबस्तीसँगै सयौं बिघा जमीन कटान हुने खतरा बढेको उनी बताउँछन् ।

कोल्हवी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने बकैया खोलाको बर्सेनि ठेक्का लगाउँदै आएको छ । खोला ठेक्काका नाममा मापदण्डविपरीत उत्खनन, दोहन हँुदा त्यसको असरसमेत निजगढस्थित बकैया पुल, ड्यामलगायतका संरचनामा पर्दै आइरहेको छ ।

मापदण्डविपरीत उत्खनन गर्दा चुुरे, वनजङ्गल, मानवबस्ती, खेतीयोग्य जमीन, पुुल, ड्याम जस्ता सार्वजनिक भौतिक संरचना भत्किने क्रम जारी रहेको जनाउँदै चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले माघ १३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दर्ता गरेको र माघ १४ गते अल्पकालीन अन्तरिम आदेश जारी भई अहिले निजगढ र कोल्हवी नपाका बकैया खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ उत्खनन कार्य रोकिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्