नरेश यादव, पर्सागढी, १ फागुन/
मधेसी राष्ट्रिय मुक्ति मोर्चा पर्सा जिल्ला कार्यसमितिको आयोजना तथा सहकारी केन्द्र नेपाल पर्साको सहकार्यमा सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पंचगावाँमा ३०औं जनयुद्ध दिवसको उपलक्ष्यमा बिहीवार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी, पर्साका नेता शिवकुमार साहले आजको दिनदेखि माओवादी जनयुद्ध शुरू भएको स्मरण गर्दै महान् जनयुद्धमा माओवादीहरूले गरेको बलिदानका कारण देशमा गणतन्त्र स्थापना भएको बताए । माओवादीकै कारण सबैले आफ्नो अधिकार पाएको उनले दाबी गरे । जनयुद्धकै कारण मधेसी, दलित, मुस्लिमलगायतका पिछडिएका वर्गले आफ्नो अधिकार पाएको उनले बताए ।
कार्यक्रममा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सचिव महेश चौरसिया, होरीलाल राम, रामबाबू पडित, कपिलदेव चौधरीलगायतको सहभागिता थियो ।
कार्यक्रम विद्यासागर यादवको अध्यक्षतामा भएको थियो भने प्रदीप चौधरीले सहजीकरण गरेका थिए ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र पर्सागढी नगर कमिटीको आयोजनामा ३०औं जनयुद्ध दिवसको उपलक्ष्यमा वडा नं ३ बडनिहार चोकमा दीप प्रज्वलन गरिएको छ । सोम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्धन चौधरी, हरि थापा, विष्णु तामाङ, अर्जुन राम, जीतेन्द्र राम, केशव शर्मा, जिरेन्द्र राम लगायतको सहभागिता थियो ।
प्रस, पोखरिया/
यसैगरी, नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीको आयोजनामा ३०औं जनयुद्ध दिवसको उपलक्ष्यमा दीप प्रज्वलन गरिएको छ । पोखरिया नगरपालिका–४ पोखरिया बजारमा दीप प्रज्वलन गरिएको थियो । नगर अध्यक्ष पन्नालाल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा हरिन्द्र महतो, सोनालाल साह, लक्ष्मीनारायण ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जनयुद्धबाट देशमा आएका उपलब्धिबारे चर्चा गरिएको थियो ।