विधेयक खारेजीको माग गर्दै ज्ञापनपत्र

प्रस, रौतहट, ३० माघ/
नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई रौतहटका सञ्चारकर्मीहरूले खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

श्रमजीवी पत्रकार सङ्घ, रौतहटको अगुवाइमा गौरको बिपी चोकबाट सञ्चारकर्मीहरू मुखमा कालो टेप टाँसी विभिन्न प्ले कार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सञ्चारकर्मीहरूले प्रमुख प्रशासकीय अधिकृत मनीष झालाई ज्ञापनपत्र बुझाएका थिए ।

सञ्चारकर्मीलाई सङ्कुचित पार्नका निमित्त यस्ता विधेयक ल्याउन लागेकोले सञ्चारकर्मीहरूले मुखमा कालो टेप
टाँसेर मौन जुलुस प्रदर्शन गरेका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मिडियामाथि अङ्कुश लगाएर सरकार तानाशाह बन्न खोजेकोमा गम्भीर आपत्ति भएको जनाउँदै अविलम्ब ती विधेयक खारेज गर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको श्रमजीवी पत्रकार सङ्घका जिल्ला अध्यक्ष सन्तोष पौडेलले बताए ।

सो विरोध कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष रवीन्द्रप्रसाद साहसहित श्रमजीवी पत्रकार सङ्घका पदाधिकारीहरू तथा अन्य सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्