हाम्रो समाजको विशिष्टता यो रहेको छ कि कुनै पनि कुरामा सर्वमान्य हुन सक्दैनौं । सर्वमान्य निर्णय पनि कतिपय अवस्थामा प्रायोजित जस्तो लाग्न थाल्छ । निर्णयको खुल्ला प्रक्रिया अपनाउन हामी तयार छैनौं । कुनै पनि विषयमा छलफल होइन बहस गर्न तयार हुन्छौं । बहस पनि जहाँबाट मन लाग्यो, त्यहींबाट र जस्तो मन लाग्यो त्यस्तै गर्न थाल्छौं । बहसमा बौद्धिकता वा तार्किकता होइन, हामीलाई कसले बढी जोडले कराएर वा चिच्याएर बोल्न सक्छ, त्यसैमा मज्जा आउँछ । बहस कुनै निर्णयका लागि होइन, शायद ताली बजाउनका लागि र आफूलाई तार्किक सिद्ध गर्नका लागि गर्छौं । बहसले के निष्कर्ष दिन सक्छ वा दिएको छ भन्ने कुरामा हाम्रो ध्याउन्न हुन्न । यस कारण कतिपय बहस, छलफल वा निर्णय गर्नुपर्ने क्षणहरूमा सोझै हस्ताक्षर हुन्छ वा घुमाएर हस्ताक्षर हुन्छ । अनि व्यक्तिको हस्ताक्षर देखेर वा फोनमा भएको कुराकानीको आधारमा निर्णय पारित हुन्छ । अर्थात् हाम्रो समाजका सम्भवतः अधिकांश क्षेत्रमा बहसको लागि हरदम विषयवस्तु तयार भएर बसेको हुन्छ ।
अहिले र पहिले गरी कतिपय सन्दर्भको महŒवमा पृथकता हुन सक्छ । अहिले कतिपय सन्दर्भ राम्रो वा नराम्रो लाग्न सक्छ वा उपयोगविहीन पनि लाग्न सक्छ तर कुनै समयमा त्यसको महŒव धेरै रहेको हुन सक्छ । फेरि पनि महŒव बुझ्ने उमेर, शिक्षा, प्रयोजन, स्वार्थ तथा अन्य पक्षले पनि भूमिका निर्वाह गरेको हुन्छ । कतिपय अवस्थामा जहिले पनि नकारात्मक हुने मनोविज्ञान हुन्छ । नकारात्मक मनोविज्ञानले सकारात्मक कुरालाई नदेख्न सक्छ वा देखे पनि नकारात्मकता नै देख्न सक्छ । सन्दर्भ जेसुकै होओस्, प्रयोजन जस्तोसुकै किन नहोस्, तिनको नजरमा महादेव पनि कालो पत्थर नै हुन्छ । यहाँ आस्तिक र नास्तिकको सन्दर्भ छैन तर मूल्याङ्कनमा हुने दृष्टिकोणको निर्भरता भने अवश्य हो । यद्यपि प्रभावलाई भने हरेकले भोगिरहेको हुन्छ । भोगाइको अनुभूति र अनुभूतिको अभिव्यक्तिमा हुने पृथकताले उसको सापेक्षता र निरपेक्षतालाई निर्धारण गर्छ ।
अहिले व्यवहारमा प्रयोग र प्रचलनमा रहेको समावेशी तथा आरक्षणको सन्दर्भलाई नै लिऊँ न । धेरैजना छन्, जो विरोध गर्छन् तर विरोध गर्दा आफूले फाइदा लिइरहेको पनि बिर्सिन्छन् । आफूले फाइदा लिने बेलामा आँखा चिम्लेर फाइदा लिने, त्यति बेला मीठो मान्ने तर जब त्यसैको नैतिक वा सैद्धान्तिक पक्षको विश्लेषण हुन्छ, तब त्यति बेला त्यसको विरोध गर्ने दोहोरो मानसिकताका मानिस हुन्छन् । जसरी पनि आफ्नो पक्षमा तर्क गर्नेहरूले वास्तवमा समाजलाई के दिन चाहेका हुन्छन् भन्ने थाहा पाउँदैनन् । विरोधका लागि विरोध गर्नेहरूले केवल विरोधको चरित्र प्रदर्शनीमा राख्छन् र भित्रभित्रै फाइदाको चरित्रमा आफूलाई उभ्याउँछन् । अहिले यही प्रवृत्तिले विस्तार पाएको छ । यही प्रवृत्ति वा चरित्रले गर्दा समाजको चरित्र नै करीब यस्तै हुन पुगेको छ । करीब भन्नुको पछाडि हरेक मानिस चाहिं यस्तै हुन् भन्न खोजिएको होइन, अधिकांशको चरित्र यस प्रकारको छ । चट्टानझैं आफ्नो सिद्धान्त र विचारमा अडिग रहने वा आफ्नो सिद्धान्त वा विचारलाई आफ्नो चरित्रले स्पष्ट पार्ने मानिसको सङ्ख्या समाजमा तुलनात्मकरूपमा कम नै रहेको छ भन्न खोजिएको मात्र हो ।
करीब तीन दशक पहिले आजकै दिन नेपालमा माओवादी जनयुद्धको सुरुआत भएको थियो । कतिपयले जनयुद्ध, कतिपयले माओवादी हिंसा तथा कतिपयले आतङ्ककारी युगको सुरुआत भएको मानेका छन् । यहाँ माओवादी आन्दोलन मान्दा पनि फरक पर्दैन । नेपालको राजनीतिक इतिहासमा यस दिनलाई धेरैले धेरै किसिमले व्याख्या, विश्लेषण तथा चिन्तन गरेका छन् । हुनत यो पनि भनिन्छ कि नेपालको इतिहासमा कुनै पनि राजनीतिक आन्दोलन सम्झौतामा गएर टुङ्गिने गरेको छ । द्विपक्षीय वा बहुपक्षीय सम्झौता नै नेपालको राजनीतिक आन्दोलनको एउटा प्रवृत्ति हो भनेर विश्लेषण गर्नेहरू पनि छन् । राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलनले पनि दिल्ली सम्झौतामा गएर टुङ्गिएर इतिहास बनाएको तथा पञ्चायतविरोधी आन्दोलनले पनि राजासितको सम्झौतामा गएर विराम पाएको तथ्य सबैका सामु घामझैं छर्लङ्ग छ । माओवादी आन्दोलन जुन १ फागुन २०५२ देखि शुरू भएको थियो, त्यो आन्दोलन पनि एउटा सम्झौतामा नै गएर टुङ्गिएको थियो । सम्झौतामा गएर टुङ्गिदा सम्झौता गर्ने पक्ष तत्कालीन राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष थिए । यही सम्झौताको जगमा अन्तरिम संविधान बन्यो र देशमा गणतन्त्र स्थापना हुन पुग्यो । सोही गणतन्त्रलाई संविधानसभाबाट बनेको संविधानले पनि निरन्तरता दियो । देशमा गणतन्त्र र त्यसपछि सङ्घीयता अनि समावेशी चरित्र त्यही माओवादी आन्दोलनको जगमा नै परिकल्पना गरिएको हो । माओवादी आन्दोलनभन्दा पहिले देशमा प्रजातन्त्र पुनर्बहाली भइसकेपछिको अवधिमा कुनै पनि
अन्य पक्षबाट यी विषयलाई मुद्दा बनाइएको पाइँदैन । यस अर्थमा पनि आजको दिनको विशेष र विशिष्ट महŒव रहेको छ ।
जहाँ सम्झौता हुन्छ, त्यहाँ दुवै पक्षको कुरो सुनिन्छ । अनि फेरि लागू गर्ने पालो कसको आउँछ, त्यहाँ सम्झौताको इमानदारीपूर्वक परिपालना हुन्छ कि हुँदैन भन्ने पक्ष पनि कम्ती महŒवपूर्ण हुँदैन । माओवादी आन्दोलन शुरू भएदेखि नै त्यसको पक्ष र विपक्षमा निकै तर्क र बहसहरू भएका थिए । तर्क र बहसको पनि करीब कित्ता निर्धारण भइसकेको थियो र अहिले पनि धेरै हदसम्म यस कित्ताको स्वरूपलाई देख्न र बुझ्न सकिन्छ । माओवादी आन्दोलनलाई हिंसा भन्नेहरूमध्ये केही यस्ता पनि छन्, जो नेपालमा २००७ सालमा प्रजातन्त्र आएको कुरालाई त स्वीकार गर्छन् तर त्यस समयको आन्दोलनको स्वरूपलाई बुझ्दैनन् । फेरि पनि देशमा प्रजातन्त्र आउँदा बखत होस् वा प्रजातन्त्र पुनर्बहालीको समयमा होस्, पहिलेकै व्यवस्था राम्रो थियो र पहिलेको व्यवस्था नै स्वर्गको जस्तो थियो भन्नेहरू नभएका होइनन् । वर्तमानको जहिले पनि आलोचना गर्ने र विगतको जहिले पनि प्रशंसा गर्नेहरूमध्ये अधिकांशमा भविष्यप्रति निराशा हुन्छ, भविष्यप्रति कहिल्यै स्पष्ट सिर्जनात्मक दृष्टिकोण हुँदैन । भविष्यलाई कसरी राम्रो बनाउने भन्ने विषयमा अन्योल हुन्छ । हामीले वर्तमानलाई मात्र हेर्नुहुँदैन । विगतबाट पनि अनुभव लिनुपर्छ, वर्तमानमा कर्तव्य गर्नुपर्छ र भविष्यप्रति आशावादी हुनुपर्छ । भविष्यमा अझ राम्रो कसरी गर्ने भन्ने विषयमा पनि आफ्ना कर्महरू केन्द्रित गर्नुपर्छ । भविष्यलाई वर्तमानको जगमा उभ्याउन सोच्नेहरूले पनि विगतबाट पाठ सिकेका हुन्छन् । अहिले देशमा जे जस्तो प्रगति भएको छ वा अहिले देशको दुर्दशा भएको मान्नेहरू पनि छन्, प्रगति वा दुर्दशा सबैमा देशको विगत वा हाम्रो विगत पनि जिम्मेवार रहेको छ, वर्तमान पनि जिम्मेवार रहेको छ । देशमा सबै नराम्रा काम मात्रै भएको छैन, धेरै असल अभ्यास पनि भएका छन् । हरेक असल अभ्यासको फाइदा हरेक नागरिकले लिएका छन् तर फाइदा लिएर आलोचना गर्ने प्रवृत्ति हामीमा छ । एक किसिमले हामी विद्रोही प्रकृतिका छौं । हरेक कुरामा हामी विद्रोही दृष्टिकोण राख्छौं ।
वर्तमान अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने ? हामीले धेरै किसिमको व्यवस्था बेहोरिसक्यौं । अब हामीमा नै इमानदारीको खाँचो रहेको छ कि ? हरेक नागरिक इमानदार हुने समय कहिले आउने ? कुनै यस्तो व्यवस्था आउँला, जहाँ मानिस उक्त व्यवस्थामा स्वतः इमानदार र नैतिकवान् भइहालोस् ? व्यवस्थाले मानिसलाई नैतिकवान् र इमानदार बनाउने हो कि व्यक्तिको व्यक्तिगत र सामूहिक चरित्रमा हुने हो ? व्यक्ति जब इमानदार हुने वातावरण बन्छ, तब हाम्रो समाजमा हामीले सोचेको जस्तो वातावरण बन्ने कुरामा विश्वस्त हुन सकिन्छ । अब व्यवस्थाभन्दा पनि हाम्रो अवस्था बदल्नु जरुरी छ भन्ने कुरा धेरैले भन्न थालेका छन् ।