काठमाडौं, ३० माघ/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ७३ को बिन्दुमा कायम भएको हो ।
आज ३०७ कम्पनीका एक करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर ८२ हजार ८५० पटक खरीद–बिक्री हुँदा रु आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ३३, वित्त एक दशमलव ५६, लगानी एक दशमलव २२ र जीवन बीमा समूह एक दशमलव ४८ प्रतिशतले बढेको छ । अरू सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ शून्य दशमलव शून्य नौ होटल तथा पर्यटन शून्य दशमलव ६३, जलविद्युत् शून्य दशमलव शून्य चार र उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ प्रतिशतले घटेका छन् ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा शून्य दशमलव शून्य तीन, व्यापार शून्य दशमलव ९१ र अन्य समूह शून्य दशमलव ४७ प्रतिशतले घटेका छन् । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रु ३९ करोड ६० लाख २२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फन्डको पाँच लाख १४ हजार एक सय कित्ता शेयर किनबेच भएका छन् ।