महिला क्रिकेट अन्तर्गत बैतडी फाइनलमा प्रवेश

बैतडी, ३० माघ/रासस
१०औं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउँदै बैतडी उपाधिनजीक पुगेको हो ।

जीतका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बैतडीका लागि कप्तान रीतु कनौजिया, जानकी थापा, आरती बोहराले दुई/दुई र वसन्ती बोहराले एक विकेट हात पारे ।

यस अघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४ दशमलव चार ओभरमा ८४ रनमा समेटियो । जसमा कप्तान रीतु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरे । कैलालीकी खुशी पौडेलले तीन र कप्तान स्नेहा महराले दुई विकेट झारे । उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चुनिनेछन् । १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्