टोकियो, ३० माघ/एएफपी
जापानले बुधवार अमेरिकासँग स्टील र एल्युमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् ।
ट्रम्पले मार्च १२ देखि स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले क्यानडा, मेक्सिको र युरोपेली सङ्घ (इयू)लगायत अन्तर्राष्ट्रियस्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।
“हामीलाई स्टील र एल्युमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौं,” प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूलाई भने ।
उनका अनुसार यो अनुरोध बुधवार बिहान अमेरिकास्थित जापानी दूतावासमार्पmत गरिएको थियो ।
“जापानले यी उपायहरूका विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ,” उनले भने ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए ।
तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टील अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।
“ट्यारिफ कोटा भनिने उक्त छुटलाई खारेज गरिनेछ,” व्यापार मन्त्रालयका एक अधिकारीले भने । ट्रम्पको पछिल्लो नीति अनुसार स्टीलमा २५ प्रतिशत र एल्युमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ । रासस