प्रस, परवानीपुर, १० माघ/
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा १२ वर्षपछि लाग्न गइरहेको श्रीश्री १०८ श्री महाशिवरात्रि महायज्ञको तयारी जोडसोडले भइरहेको छ ।
महायज्ञ तयारी समितिका अध्यक्ष शङ्करप्रसाद यादवले १२ वर्षपछि इटियाहीमा महायज्ञ हुन गइरहेको र अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न धार्मिकस्थलहरू घुम्न जान नसक्नेहरूलाई लक्ष्Fित गरेर तयारी भइरहेको बताए । महायज्ञमा एक हजार ११ वटा शिवलिङ्ग निर्माण भइरहेको छ ।
विगत ४० वर्षदेखि मूर्ति बनाउँदै आएका पर्सा जिल्ला विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनी टोलाका बलिराम यादवको नेतृत्वमा दुई दर्जनभन्दा बढी मूर्तिकारहरू महायज्ञमा खटेका छन् । उनीहरूले कृष्णलीला, रामलीला, महाभारतका दृश्यहरू र समुद्रमन्थनजस्ता घटनाहरूलाई मूर्तिको माध्यमबाट दर्शाउनेछन् । उनले महायज्ञमा अनुमानित एक करोड खर्च आकलन गरिएको र गापाले १५ लाख सहयोग गर्ने घोषणा गरेको तथा अन्य रकम चन्दाबाट सङ्कलन गरिने र सोबाट बचत रकम गापाको हितमा खर्च गरिने बताए । मनोरञ्जन समितिका संयोजक सुमीत यादवले महायज्ञको लागि यज्ञशाला निर्माण भएको र झुलुवालगायत सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको तथा महायज्ञमा आउने भक्तजनहरूको लागि शौचालय निर्माण पनि भइरहेको बताए ।
महायज्ञ मूल समितिका अध्यक्ष यादवले माघ २३ गते कलशयात्रा र फागुन १५ गते पूर्णाहुतिसहित महायज्ञ समापन हुने बताए ।