गरीब विपन्नलाई न्यानो कपडा सहयोग

प्रस, वीरगंज, २७ पुस/

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगर ग्रीनसिटी समुदायिक सेवा केन्द्र र रूँगटा वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा शनिवार दुई सय थान कम्बल वितरण गरिएको छ।

शीतलहरसँगै बढेको चीसोबाट विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिकाहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको रूँगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूँगटाले बताए। प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतका व्यक्तिहरूले विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिकाहरूलाई कम्बल वितरण गरेका थिए। ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा सप्रउ राधेश्याम धिमाल, प्रनाउ किशोर लम्साललगायतको सहभागिता थियो। 

यसैगरी, सामुदायिक सेवा केन्द्र  छपकैयाले शुक्रवार सय थान स्वेटर र ५० थान टोपी वितरण गरेको छ। वीरगंज महानगर–२ छपकैयामा रहेका अल्पसङ्ख्यक समुदायका बालबालिकाहरूको लागि सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राज होजियारीको सहयोगमा ती सामग्रीहरू प्रनाउ लम्सालले वितरण गरेका थिए। केन्द्रका अध्यक्ष ग्याँसुमियाँ ठकुराईले चीसोबाट थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गरिएको बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्