प्रस, वीरगंज, २४ पुस/
वीरगंज महानगरपालिकाले बिपी उद्यान खाली गराउने नाममा दलित बस्तीमा मात्र डोजर चलाएको छ । महानगरले बिपी उद्यानमा रहेका संरचनाहरू हटाउन यस अघि दुईपटक सूचना जारी गरेको थियो ।
पछिल्लोपटक अटेर गरेको भन्दै महानगरले बिपी उद्यान खाली गराउने क्रममा त्यहाँ रहेका दलितहरूको झोपडीमा मात्र डोजर चलाएको छ । बिपी उद्यानमा थोक, खुद्रा तरकारीपसल, सवारी पार्किङ, हड्ढङ बजार, साना सवारी पार्किङ र ग्रामीण क्षेत्रमा सञ्चालित सवारीसाधनको पार्किङ हँेदै आएको छ । ती सबैलाई महानगरले हटाउन सकेको छैन ।
तर तीन दिन अगाडि त्यही रहेको २० वटा झोपडीलाई डोजर चलाएर तहसनहस गरेर त्यहाँ बसेका दलितहरूलाई चीसोमा उठीबास लगाउने काम गरेको छ ।
वीरगंज महानगरपालिकासँग बिपी उद्यान खाली गराएर त्यहाँ नयाँ संरचना बनाउने कुनै योजना छैन । ग्रीनपार्क निर्माण गर्ने योजना अन्तर्गत बिपी उद्यान खाली गराउन लागेको भौतिक पूर्वाधार सार्वजनिक नियन्त्रण समितिका संयोजक एवं वडाध्यक्ष प्रदीप चौरसियाले बताए । उनले ग्रीनपार्कको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताए । डिपिआर निर्माण भइरहँदाकै अवस्थामा त्यसले मूर्तरूप लिने–नलिने विषय विचाराधीन रहेको र महानगरपालिकाले हतारमा दलितहरूको घरमा डोजर चलाएर उठीबास गराएको छ । अहिले त्यहाँ रहेका दलितहरू २० वटा झोपडीबाट पाँचवटा झोपडी बनाइ उकुसमुकुस जीवनयापन गरिरहेका छन् ।
त्यहाँका दलितहरू अहिले आक्रोशित छन् । अढाई दशकअगाडि महानगरले अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल निर्माण गर्ने क्रममा हालको वीरगंज–१० आदर्शनगर क्षेत्रबाट बिपी उद्यानमा दलितबस्ती स्थानान्तरण गरेको थियो । महानगरको अधीनमा आएको बिपी उद्यान दुई दशक बढी भयो । यस अवधिमा बिपी उद्यानमा सघन शहरी कार्यालयले पर्खाल घेर्ने र केही क्षेत्रमा पार्किड्ढो लागि पक्की भुइँ निर्माण गर्ने र माटो पुर्ने कामबाहेक केही पनि हुन सकेको छैन । अहिले ग्रीन पार्कको योजना अगाडि बढे पनि डिपिआर तयार भएको छैन र त्यसको लागि कसले कति बजेट दिने भन्ने टुङ्गो पनि लागेको छैन । कामको टुङ्गो नै नलागेर केवल दलितहरूको झोपडी मात्र उजाडिएको कारण उनीहरू अहिले निकै आक्रोशित छन् ।
बिपी उद्यानमा रहेका एकजना दलितले पटक–पटक झोपडीमा डोजर चलाइएको र दलितहरूलाई मात्रै अत्यधिक जाडो र वर्षामा महानगरले दुःख दिने गरेको बताए । यहाँका दलितहरूले बिपी उद्यानमा निर्माण हुने ग्रीन पार्कका लागि त्यहाँ रहेका सबै संरचना महानगरले खाली गराउनुपर्नेमा केवल आफूहरूको बस्ती मात्रै उजाडिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।