प्रस, वीरगंज, २४ पुस/
गहुँखेतीको लागि गण्डक नहरमा पानी आएको छ । भारतसँग गण्डक नहर निर्माणको क्रममा गहुँबालीका लागि पुस १५ र धानबालीको लागि असार १५ मा गण्डक नहरमा पानी छाड्ने सहमति भएको थियो । सोहीअनुरूप अहिले पुसको तेस्रो साता शुरू भएपछि गण्डक नहरमा पानी छोडिएको छ ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय गण्डक, वीरगंजका डिभिजनल इन्जिनीयर मनोज पटेलले गहुँबालीको लागि अहिले ३५० क्युसेक पानी आएको बताए । उनले प्रत्येक वर्ष ८०० क्युसेक पानी धान र गहुँको सिजनमा भारत सरकारले प्रदान गर्ने सम्झौता भएको र सोहीअनुरूप अहिले ३५० क्युसेक पानी अहिले गण्डक नहरमा आइसकेको बताए । उनले एक साताभित्र ६५० क्युसेक पानी आउने बताए । गण्डक नहरमा भारतले पानी छाड्दा शुरूमा थोरै पानी छाड्ने र नहरको अवस्था आकलन गर्दै पानी बढाउँदै लग्ने गरेको उनले जानकारी गराएका छन् ।
गण्डक नहरमा भारत सरकारले नारायणी नदीमा बनाएको तटबन्धबाट पानी आउने गर्छ । भारतका दुईवटा दोन नहर र नेपालको पूर्वी नहर (गण्डक)मा आठ/आठ सय क्युसेकको दरले पानी प्रवाह गरिने सम्झौता भएको छ । अहिले पूर्वी नहरबाट पर्सा, बारा र रौतहट गरी १५ ब्लकमध्ये १३ वटा ब्लकसम्म पानी प्रवाह भइसकेको छ । एक साताभित्र १५ वटै ब्लकमा पानी पुग्ने बताइएको छ ।
बाराको जमुनी खोलाबाट पनि नहरमा पानी प्रवाह हुने र त्यसबाट किसानहरूले गहुँ सिंचाइ गर्ने हुँदा अहिले पानीको माग कम भएको कारण भारतबाट सोही परिमाणको पानी प्रवाह गरिएको डिभिजनल इन्जिनीयर पटेलले बताए ।