जय ट्रफी : मधेस १२९ रनमा सीमित

प्रस, वीरगंज, २४ पुस/
नारायणी रङ्गशाला र जनकपुर रङ्गशालामा जारी जय ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार वीरगंजमा मधेस प्रदेश र विभागीय क्लब नेपाल पुलिसबीच खेल भइरहेको छ भने जनकपुरमा बाग्मती प्रदेश र विभागीय टीम त्रिभुवन आर्मीबीच खेल जारी छ ।

वीरगंजमा टस हारेर मधेस प्रदेशले पहिला ब्याटिङ गर्दै ४२.४ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो । जसमा मधेसका मयन यादवले ५९ र नीरज यादवले २९ रनको योगदान दिएका थिए । पुलिसका गुलशन झाले घातक बलिङ गर्दै चार ओभर मेडेन, ४० रन खर्चेर पाँच विकेट लिएका थिए । पुलिसले पहिलो दिन खेल समाप्त हुन्जेलसम्ममा ४० ओभरमा तीन विकेटको नोक्सानीमा १७४ रन बनाएको थियो । पुलिसका कुशल भुर्तेलले ६३, दिलीपनाथले ४०,
अमित श्रेष्ठले ३४ रन बनाएका थिए । मधेसका हरिशङ्कर झाले दुई र अभिषेक तिवारी एक विकेट लिएका थिए ।

उता जनकपुरमा विभागीय टीम त्रिभुवन आर्मीले टस हारेर ब्याटिङ गर्दै ६० ओभरमा पाँच विकेटको क्षतिमा २७६ रन बनाइ पारी समाप्तिको घोषणा गरेको छ । आर्मीका इमरान शेखले ७२ र वशिर अहमदले ५३ रन बनाएका थिए भने बाग्मतीका विपिन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिएका थिए ।

बाग्मतीले २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२४ रन बनाएको छ । बाग्मतीका शुभ कंसाकारले ३४ र उत्तम मगरले २८ रन बनाए भने आर्मीका आकाश चन्दले तीन र सोमपाल कामीले दुई विकेट लिएका थिए ।