ढाका, पुस २४/एएनआई
बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलवार साँझ लन्डन प्रस्थान गरेका छन् ।
ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लन्डन प्रस्थान गरेकी हुन् ।
राति ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लन्डनतर्फ निस्किएकी ७९ वर्षीया जिया कलेजो सिरोसिस, मुटुरोग, मिर्गौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । उनलाई उपचारका लागि लन्डन क्लिनिकमा भर्ना गरिने बताइएको छ ।
जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका चिकित्सकहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लन्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमवार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।
जियालाई लन्डन लैजाने तयारी भएको सूचनासँगै उनी प्रस्थान गर्नु अघि ठूलो सङ्ख्यामा बिएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाको निवास फिरोजानजीकै भेला भएका थिए ।
बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेका थिए भने उनले भेला भएका समर्थक र शुभेच्छुकहरूलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका थिए ।
लन्डन भ्रमणलाई बिएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन् । खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए ।
ढाका ट्रिब्यूनका अनुसार बिएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बिएनपी नेत्री तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ भई फर्कने र पार्टी तथा देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् ।
नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “उहाँ हामीकहाँ स्वस्थ भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ । हामी सबै उहाँको सुस्वास्थ्यको प्रार्थना गर्छौं ।” रासस