राष्ट्रपति रनिङ शिल्डः नेरामावि सेढवा प्रथम

प्रस, पोखरिया, २३ पुस/
जीराभवानी गाउँपालिकामा हिजो सोमवारदेखि शुरू भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मङ्गलवार फाइनल खेलहरू सम्पन्न भएका छन् ।

दौड प्रतियोगिता अन्तर्गत सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार, हाईजम्प, लङजम्प, ज्याबलिङ थ्रोलगायतका खेलहरूमा जीराभवानी गापाका मावि, निमावि र प्रावि गरी २२ वटा विद्यालय सहभागी थिए । प्रतियोगितामा नेरामावि, सेढवा बिर्ताले ११ स्वर्ण, तीन रजत र आठ कांस्य पदक जितेर पहिलो भएको छ । यसैगरी, नेरामावि, कठकुइया वसन्तपुर चार स्वर्ण, नौ रजत र चार कांस्य पदकसहित दोस्रो भयो भने बितो महतो जनता मावि, जीतपुर, नवकाटोला चार स्वर्ण, आठ रजत र पाँच कांस्य पदकसहित तेस्रो भयो ।

विजेता टीमलाई वडाध्यक्ष रामशरण खवासले शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । गापाका शिक्षा शाखा प्रमुख शिवराज फुयाँलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रअहरू रामाशङ्कर चौधरी, कृपासिन्धुप्रसाद पटवारी, खेमराज प्रसाद, आसमान नेपाल पर्साका संयोजक धर्मेन्द्र चौरसिया, नेकाका सन्तोष चौरसिया, प्रशिक्षक विशेश्वर पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण समीर मियाँ गद्दीले गरेका थिए ।