इजरायल–हमास वार्ता

इजरायल र हमासबीचको युद्धविराम र बन्धक मुक्त गर्ने उद्देश्यले कतारमा वार्ता जारी छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी करीब २५५ जनालाई बन्धक बनाएको थियो । तत्पश्चात् इजरायली सैन्य कारबाहीसँगै बन्धकहरूको रिहाइका लागि धेरै वार्ता भए । यसमा कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरिरहेका छन् । बन्धक बनाएदेखि हालसम्म हमासले १३ जना इजरायली बन्धकलाई रिहा गरेको छ, जसमा दुईदेखि ८५ वर्षसम्मका व्यक्तिहरू छन् । इजरायली सेनाका अनुसार ९६ जना बन्धक अझै हमासको कब्जामा छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भइसकेको छ । यस अघिको एक अस्थायी युद्धविराम सम्झौतामा हमासले १५० जना प्यालेस्टिनी बन्दीको बदलीमा ५० जना इजरायली बन्धकलाई रिहा गर्ने सहमति जनाएको थियो । सोही क्रममा केही बन्धक मुक्त गरिएका हुन्, तर तत्कालीन सहमति पूर्णरूपमा कार्यान्वयन भने हुन सकेन ।

हमाजको कब्जामा रहेका बन्धकहरूमा एकजना नेपाली नागरिक पनि छन् । उनको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी उपलब्ध छैन । नेपाल सरकार र सम्बन्धित निकायहरूले उनको सुरक्षित रिहाइका लागि प्रयास जारी रहेको बताउने गरेका छन् । सम्पूर्ण बन्धकको सुरक्षित रिहाइ अझै सुनिश्चित भएको छैन । त्यसैले हाल पुनः वार्ता शुरू भएको हो । युद्धरत पक्षबीच बन्धक आदानप्रदान हुन सक्छ । यस अघि सन् २०११ मा पनि इजरायल र हमासबीच युद्ध हुँदा यसैगरी विभिन्न स्तरमा वार्ता भएका थिए । जसमा इजरायलले एक हजार २७ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो ।

युद्धविराम वा बन्धक मुक्त गर्ने प्रयासहरू पूर्ण सफल हुन नसक्नुका धेरै कारण छन् । पहिलो, दुवै पक्षका कठोर अडान हो । इजरायलले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्छ भने हमासले प्यालेस्टिनीहरूको हकअधिकार र इजरायली नीतिप्रति असहमति जनाउँदै आएको छ । दोस्रो, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिको खेल छ । संयुक्त राज्य अमेरिका र इरानको प्रभावले वार्ता अन्योलमा परेको स्पष्ट छ । तथापि यसपटक वार्तामा सफलता हात पर्न सक्ने केही सकारात्मक पक्ष छन् । पहिलो, शर्त कतारको मध्यस्थता छ । कतारले विगतमा पनि हमास र इजरायलबीच संवादको माध्यम बनाएको अनुभव छ । दोस्रो, दुवै पक्षलाई दबाब छ । इजरायलमा बन्धकका परिवारहरूबाट सरकारमाथि बढ्दो दबाब र हमासमाथि अन्तर्राष्ट्रिय दबाबले वार्तालाई गम्भीरतापूर्वक लिने परिस्थिति सिर्जना गरेको छ । चुनौतीहरू पनि छन्, जसको कारण प्रयासहरू सफल नहुन पनि सक्छन् । इजरायल र हमासमा एकअर्काप्रति विश्वासको कमी छ । इजरायललाई डर छ कि हमासले बन्धक मुक्त गराए पनि आक्रमण रोक्दैन । हमासलाई लाग्छ कि बन्धक मुक्त गरिदिए पनि इजरायलले वाचा पूरा नगर्न सक्छ । त्यसैगरी, क्षेत्रीय परिस्थितिका कारण इजरायल र हमासबीचको शर्त मात्रै निर्णायक हुँदैन । यसमा इरान, टर्की र साउदी अरेबियाजस्ता क्षेत्रीय शक्तिराष्ट्रहरूको चासोले पनि असर गर्छ । कतारमा शुरू भएको यो वार्ता सफल होस् भन्ने शान्ति र मानवताका पक्षधर सबैको इच्छा छ । शान्ति केवल गाजाको लागि मात्र होइन, मध्यपूर्व क्षेत्रकै स्थायित्वका लागि अपरिहार्य छ । सफलताका लागि इजरायलले मानवीय पक्षलाई प्राथमिकता दिनुपर्छ भने हमासले हिंसाको राजनीति त्यागेर वार्ताबाटै समाधान खोज्नुपर्छ ।