अमलेखगंजबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

बाग्मती, २३ पुस/रासस
बाराको अमलेखगंजबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतिहारी–अमलेखगंज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।

अमलेखगंजबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इन्जिनीयर मनोज ठाकुरले जानकारी दिए ।

“नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ”–प्रवक्ता ठाकुरले भने–“टोलीले अध्ययन गरेर अहिले डिपिआर तयार गरिरहेको छ ।” पाइपलाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नेगरी काम अघि बढ्ने उनको भनाइ छ । अमलेखगंजबाट लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव नहुने उनको विश्वास छ ।

यसैगरी, मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएसँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण शुरू भएको छ । मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मटीतेल ल्याइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए ।

“पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल ५,५०० केएल र एक हजार केएल मटीतेल ल्याएका छौं”–उनले भने–“पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” त्योसँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गर्ने वा कसरी नियमित आयात शुरू गर्ने विषयमा छलफल भइरहेको जनाउँदै उनले जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकोले केही दिन ढिला हुने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्