देशको आर्थिक विकासमा युवाको भूमिका महŒवपूर्ण छ । युवाहरू देशको प्रमुख श्रमशक्ति हुन्, जसले आफ्नो ऊर्जा, सृजनशीलता र नवीन सोचको माध्यमबाट राष्ट्रनिर्माणमा योगदान दिन सक्छन् ।
युवाको भूमिकाः
उद्यमशीलता र रोजगार सिर्जना
युवापुस्ताले नयाँ व्यवसायहरू स्थापना गरी रोजगारका अवसर सिर्जना गर्न सक्छ । प्रविधिको उपयोग गरेर नवीनतम विचारहरूलाई कार्यान्वयन गर्न सक्ने क्षमता उनीहरूसँग हुन्छ ।
प्रविधि र नवप्रवर्तन
आधुनिक प्रविधिको राम्रो ज्ञान भएका युवा वैज्ञानिक र प्राविधिकले विकासमा योगदान गर्न सक्छन् । यसले उत्पादनशीलता बढाउन र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पु¥याउँछ ।
श्रमशक्ति
कृषि, उद्योग र सेवा क्षेत्रहरूमा युवाको सक्रिय संलग्नता आवश्यक छ । युवाहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन र उद्योगहरूलाई बलियो बनाउन सक्छन् ।
शिक्षा र सीप विकास
सीपयुक्त र शिक्षित युवा कार्यबलले देशलाई आत्मनिर्भर बनाउन सक्छ । उनीहरूको ज्ञान र सीपले वैदेशिक रोजगारको आवश्यकता घटाउँदै स्वदेशमैं रोजगारका अवसरहरू सिर्जना गर्न सहयोग पु-याउँछ ।
सामाजिक परिवर्तन र नेतृत्व
युवाहरू परिवर्तनका संवाहक हुन् । भ्रष्टाचारविरुद्धको अभियान, समानताको पक्षमा उभिनु र समाज सुधारमा सक्रिय भूमिका खेल्दै उनीहरूले देशको समग्र विकासमा योगदान दिन सक्छन् ।
तर हाम्रा देशका युवाहरूलाई पिण्ड खाने बेला भएका नेताहरूले देशमा अवसर प्रदान गर्नुभन्दा पनि उनीहरू विदेश जाऊन् र हाम्रो हालीमुहाली सधैं भइरहोस् भन्ने कुचाहनाबाट ग्रसित छन् । अनि कसरी देश उँभो लाग्छ । प्रत्येक महीना करीब तीन हजार युवा विदेशिन बाध्य छन् ।
पहिला संयुक्त परिवार हुन्थ्यो । मेलापात, कृषिमा आधारित जीविकोपार्जन जसले गर्दा जनशक्ति बढी चाहिन्थ्यो । अस्तिजस्तो लाग्छ, नेपाली महेन्द्रमालाको हामीले पढ्ने कुनै पाठमा राजा महेन्द्रको वाणी ‘सन्तानले डाँडाकाँडा ढाकून्’ रहेको थियो । अहिले समय फेरिएको छ । प्रविधिमैत्री कार्य भइरहेको छ । विज्ञानले फड्को मार्दा सयौं मजदूरले गर्ने कार्य एउटै मेशीनले गर्न सम्भव भएको छ । कैयौं कर्मचारीहरू चाहिने कार्यालयमा एउटै एप्लिकेशनले काम गरेको छ । तर जनजीवन एकदम खर्चिलो भएको छ । हाम्रो देशजस्तो विकासोन्मुख देशका जनतालाई सानो कमाइले जीवन धान्न हम्मेहम्मे परेको छ । फलतः २०४६ सालयता यहाँका युवाहरू विदेश पलायन हुने क्रम दिनानुदिन बढ्दो छ । यी यावत् कुराहरूले गर्दा आफ्ना सन्तानको उचित शिक्षादीक्षा र भरणपोषण गर्न एकदमै खर्चिलो हुने हुँदा अहिले आफ्ना सन्तानलाई जन्म दिनुपूर्व दशचोटि सोच्नुपर्ने परिस्थिति आइलागेको छ । अहिलेको युवापुस्ताले बढीमा दुई नत्र एक सन्तानमा नै चित्त बुझाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।
हाम्रोजस्तो कम विकसित मुलुकमा जहाँ विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्न सकिएको छैन, त्यस्तो मुलुकको मुख्य जनशक्ति भनेको नै त्यस देशका युवाहरू हुन् । तर विदेश पलायन र नियन्त्रित प्रजननले गर्दा अबको २० वर्षपछि हाम्रोजस्तो देशमा युवापुस्ता लगभग २० देखि २५ प्रतिशतको हाराहारीमा खुम्चिन सक्ने पक्कापक्की छ । त्यस बेलासम्म नियन्त्रित प्रजनन, विदेश गएका युवा स्वदेश नफर्कने समस्याले गर्दा अबको ३० वर्षपछि अहिले भइरहेका युवा वृद्ध हुने, नयाँ पुस्ता नथपिने जसले गर्दा हाल खुलेका मन्टेश्वरीदेखि स्कूल/कलेज, शिक्षक/कर्मचारी सबैलाई प्रभावित पार्दै देश वृद्धाश्रमजस्तै हुनेमा शङ्का छैन । अतः अहिले नै यहाँ रहेको युवाशक्तिलाई देश विकासमा लगाउन सकेनौं भने हामी निकम्मा तथा बैसाखीविनाको लङ्गडोजस्तै हुने पक्का छ ।
विगत १५/२० वर्षदेखि राजनीतिमा लगभग शून्यको परिस्थितिमा झरेका युवाहरू अहिले देशको विकसित राजनीतिक घटनाक्रमसँगै देशको राजनीतिमा चासो लिन थालेका छन् । जसले गर्दा उनीहरूलाई देशको भौगोलिक, सांस्कृतिक, आर्थिक र नैतिकता नजीकबाट नियाल्ने मौका मिलिरहेको छ । देश तथा विदेशमा रहेका युवाहरूले देशमा रहेका बेथिति र विसङ्गतिका बारेमा आवाज उठाउनु भनेकै देशभक्ति हो । आज तिनै युवा जो राजनीतिमार्फत यो देशको भविष्यको चिन्ता लिई देशको सेवामा तल्लीन हुन खोज्दैछन् । विदेशबाट ल्याएको सीप आफ्नै माटोमा लगानी गर्न खोज्दैछन्, तिनै युवाहरूलाई राज्यसत्ता सञ्चालन गर्नेहरूले नीतिगतरूपमा मार्गप्रशस्त गरिदिनुपर्ने टड्कारो आवश्यकता छ । यदि यो मौकालाई राज्य सञ्चालन गर्नेहरूले उचित सदुपयोग गर्न सकेनन् भने देश ठूलो आर्थिक दलदलमा फस्न गई असफल राष्ट्र बन्नेतर्फ अग्रसर हुनेमा कुनै शङ्का छैन । तर अहिलेको राज्यसत्ताको अहङ्कार भनौं या सङ्कीर्ण सोच भनौं, देशका लागि केही गरौं भन्ने युवापुस्तालाई मार्गप्रशस्त गर्नु त परको कुरा विभिन्न जालमा पार्दै दबाउने प्रयास भइरहेको छ । जुन सरासर गलत छ । एकातिर हामीले विश्वको बदलिंदो प्रविधि प्रयोग गरेर प्रतिस्पर्धामा जानुपर्ने बाध्यता छ भने अर्कोतर्फ हामीसँग भएको जनशक्तिलाई स्वदेशमा नै रोकी देशमा रोजगार सिर्जना गरी अर्थतन्त्र उकास्नुपर्ने चुनौती छ ।
अतः देशमा अहिले जेजस्ता घटना तथा परिघटनाहरू सिर्जना भइराखेका छन्, यो दुःखद छ । हाम्रो नेतृत्वकर्ताले बेलैमा विवेक प्रयोग गर्न जरुरी छ । यी यस्ता किसिमका घटनाले कोही कसैको भत्ता त लम्बिएला, तर देशको अवस्था ५०औं वर्ष पछाडि धकेलिने पक्का छ । अग्रजहरू जसले जनताको हकहित र स्वतन्त्रताका लागि आफ्नो ज्यानको पर्वाह नगरी जेल, नेल खाएर देशमा स्वतन्त्रता ल्याए, तिनै अग्रजहरू अहिले व्यक्तिगत स्वार्थमा रुमलिंदा र नवराजाहरूमा परिणत हुँदा देशमा प्रजातन्त्र आएको तीन दशकभन्दा बढी समय बितिसक्दा देश अधोगतितर्फ बढ्दो छ । अहिलेको युग २१औं शताब्दीको युग हो । जनता बुझ्ने भइसकेको छ । जनताका इच्छा र आकाङ्क्षा बढ्दो छन् । युग प्रविधिमा चल्ने भइसकेको छ । त्यस बेलाजस्तो औंला भाँचेर हिसाब गर्ने जमाना छैन । अब ७०–७५ वर्ष कटेकाहरूको दिमाग प्रविधिसँग खेल्नै सक्दैन । तसर्थ अग्रजहरूको यो त्यागको उच्च सम्मानका साथ देशको बागडोर युवाशक्तिलाई हस्तान्तरण गर्ने बाटोतर्फ उन्मुख गराउन सक्नु नै उनीहरूलाई सम्मान र युवापुस्तालाई प्रोत्साहनको उचित मार्ग हुन सक्छ । ‘मेरो गोरुको बा¥है टक्का’ले न देश बन्छ, न अग्रजहरूको इतिहासको कदर नै हुन्छ, न जनताको हित नै हुन्छ । यस कारण यी यावत् कुराहरूका बारेमा देशका बुद्धिजीवी, असल नागरिक सबैले आवाज उठाउन जरुरी छ ।
यदि युवाहरूलाई राष्ट्रले सही ढङ्गले उपयोग गर्न सकेन भने त्यसका गम्भीर परिणामहरू हुन सक्छन् । ती परिणामहरूले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई कमजोर बनाउन सक्छ ।
युवाको उपयोग नगर्दा हुने परिणामहरूः
बेरोजगारीको वृद्धि
युवाहरू रोजगारविहीन भएमा उनीहरू आर्थिकरूपमा निर्भर बन्छन् । यसले परिवार र समाजमा आर्थिक बोझ थप्नेछ ।
मस्तिष्क पलायन
यदि देशभित्र अवसरहरू उपलब्ध गराइएन भने योग्य र प्रतिभाशाली युवाहरू विदेश पलायन हुन्छन् । यसले देशलाई दक्ष जनशक्तिबाट वञ्चित बनाउँछ ।
अपराध र असामाजिक गतिविधि
बेरोजगारी र दिशाहीनता भएका युवाहरू असामाजिक गतिविधिमा लाग्ने सम्भावना बढ्छ । लागूपदार्थ दुव्र्यसन, चोरी, ठगी र हिंसामा संलग्न हुने जोखिम रहन्छ ।
आर्थिक विकासमा कमी
युवाशक्तिको सही उपयोग नगर्दा देशको श्रमशक्ति र उत्पादनशीलता घट्छ । यसले आर्थिक वृद्धिमा अवरोध पु¥याउँछ ।
सामाजिक अस्थिरता
युवाहरू असन्तुष्ट र निराश भएमा समाजमा विरोध, आन्दोलन र अस्थिरता उत्पन्न हुन्छन् । यसले देशको समग्र विकास प्रक्रियालाई अवरुद्ध गर्न सक्छ ।
राष्ट्रिय नेतृत्वको अभाव
यदि युवालाई नेतृत्वमा अवसर दिइएन भने भविष्यमा देशले कुशल र योग्य नेताहरू गुमाउन सक्छ ।
युवाशक्तिको सही उपयोग नगर्दा धेरै देशले आर्थिक, सामाजिक र राजनीतिक अस्थिरताको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा केही देशहरूले खराब अवस्थाबाट अझै बिग्रँदै गएका उदाहरण छन् ।
युवाशक्ति उपयोग नगरेका उदाहरणीय देशहरूः
अफगानिस्तान
अफगानिस्तानमा दशकौं लामो युद्ध, राजनीतिक अस्थिरता र गरीबीले गर्दा युवाहरू शिक्षादीक्षा र रोजगारबाट वञ्चित भएका छन् । यसले देशलाई चरम गरीबी र अस्थिरतामा पु¥याएको छ । युवाहरूको ठूलो सङ्ख्या हिंसात्मक गतिविधिमा संलग्न भएर विकासको सट्टा विनाशतर्फ देशलाई धकेल्दै आएको छ ।
सोमालिया
सोमालियामा बेरोजगारी, गरीबी र शिक्षा प्रणालीको अभावले गर्दा युवाहरूले आफ्नो जीवनलाई सुधार्ने मौका पाएका छैनन् । यो देशमा युवाहरूलाई सही मार्गदर्शन गर्न नसक्दा उनीहरू समुद्री डकैती र हिंसात्मक समूहमा संलग्न भएका छन् । यसले देशलाई अझै अव्यवस्थित र कमजोर बनाएको छ ।
सिरिया
सिरियामा गृहयुद्धले गर्दा लाखौं युवा विस्थापित भएका छन् । उनीहरूको शिक्षाको अभाव, रोजगारको कमी र स्थिरतामा असफलताले देशको विकास प्रक्रिया पूर्णरूपमा रोकिएको छ । युवावर्ग हिंसात्मक समूहमा सामेल भएर देशलाई विनाशतर्फ धकेल्न बाध्य भएका छन् ।
जिम्बाब्वे
जिम्बाब्वेमा आर्थिक सङ्कट, भ्रष्टाचार र कुशासनका कारण युवाहरूको प्रतिभा र क्षमतालाई सही उपयोग गर्न सकिएको छैन । बेरोजगारीको उच्च दरले युवाहरूले देश छोड्ने वा गैरकानूनी कामतर्फ लाग्ने अवस्था सिर्जना भएको छ । यसले देशको आर्थिक अवस्था झनै कमजोर बनाएको छ ।
हाइटी
हाइटीमा गरीबी, प्राकृतिक प्रकोप र राजनीतिक अस्थिरताले युवाशक्तिको सही उपयोग हुन सकेको छैन । शिक्षाको अभाव र बेरोजगारीका कारण युवाहरू असन्तुष्ट छन्, जसले देशलाई निरन्तर समस्याग्रस्त बनाएको छ । अरू पनि धेरै देश छन् जस्तै पाकिस्तान, इरान, इराक आदि । नेपाल पनि यसबाट अछूतो कहाँ रहन सकेको छ ।
पाठः
यी देशहरूले युवाशक्तिको सही उपयोग गर्न नसक्दा देशको आर्थिक र सामाजिक अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । युवाहरूको जोश, प्रतिभा र क्षमता सही तरीकाले परिचालन गर्न नसकेमा कुनै पनि राष्ट्रले दीर्घकालीन विकास गर्न सक्दैन । यसैले यी देशहरूको अनुभवबाट पाठ सिकेर युवालाई प्रोत्साहन र सही अवसर प्रदान गर्नुपर्छ ।
निष्कर्षः
युवाहरू देशका भविष्य हुन् । उनीहरूलाई उपयोग नगर्दा देश आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पछाडि पर्नुका साथै समृद्धि हासिल गर्ने अवसर गुमाउँछ । त्यसैले युवाशक्तिलाई सही दिशामा परिचालन गर्न र उनीहरूको क्षमता विकास गर्न राष्ट्रले ठोस योजना बनाउनु अत्यावश्यक छ ।