नेपालका सरकारी कार्यालयहरूमा ‘सरकारी काम कहिले जाला घाम’ भनाइ चरितार्थ भएको देखिन्छ । कार्यालयहरूको प्राथमिकता जनतालाई सेवा पु-याउनु हो, तर अधिकांश सेवाप्रदायक सरकारी कार्यालय हेर्दा यो सोचाइ पाइँदैन । कर्मचारीहरूबीच ‘दिन कटाउने, माना पचाउने’ जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हाबी छ ।
सरकारी कार्यालयहरूमा देखिने अव्यवस्था, विशेषगरी सफाइको विषय, केवल व्यवस्थापनको कमजोरी होइन, त्यहाँ कार्यरत जनशक्तिको गैरजिम्मेवारीपन तथा भ्रष्टाचारको नतीजा हो । सफाइका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन हुँदाहुँदै पनि कार्यालयको सरसफाइ दयनीय हुनु गम्भीर विषय हो । सरकारी कार्यालयका अधिकांश सफाइ कर्मचारीले हाजिरी गर्ने र तलब बुझ्नेबाहेक जिम्मेवारी पूरा गरेको पाइँदैन । कार्यालयका शौचालय प्रयोग गर्न नसकिने अवस्थामा छ, कम्पाउन्ड झारपातले भरिएका छन्, भित्ता लेउले कालो भएको छ, माकुराको जालोले छोपेको छ । यस्तो देख्दा सफाइका लागि तोकिएका कर्मचारीले के गरिरहेका छन् ? भन्ने प्रश्न उठ्छ ।
सरसफाइको अव्यवस्थाका लागि नारायणी अस्पतालको उदाहरण दिंदा झन् स्पष्ट हुने भएको छ । महानगरपालिकाका प्रमुखको अनुगमनमा समेत सरसफाइमा अस्पतालको गतिछाडा ताल देखेपछि थप केही भन्नुपर्छ र ? सरसफाइकै लागि भनेर अस्पतालमा दर्जनौं कर्मचारी खटाइएका छन् । अस्पताल फोहोरको डङ्गुर बनेको छ । सफाइको काममा ध्यान दिनुपर्ने स्वीपर, परिचारक र कार्यालय सहयोगीहरूको ध्यान जिम्मेवारीभन्दा भ्रष्टाचारतर्फ केन्द्रित देखियो । निजी अस्पतालहरूमा कम पारिश्रमिकमा समेत शøयादेखि शौचालयसम्म सरसफाइ सम्भव देखिन्छ । तर नारायणीजस्ता सरकारी अस्पतालमा बजेट र जनशक्ति हुँदाहुँदै पनि सरसफाइको जिम्मेवारी उपेक्षित छ । सरकारी कार्यालयहरूको फोहोर र अस्तव्यस्तताले गहिरो प्रश्न उठाउँछ । यी सबै केवल लापरवाहीका परिणाम हुन् कि भ्रष्टाचारको ? कामै नगरी वा गर्नुपर्ने जति काम नगरी पूरै पारिश्रमिक लिनु पनि त भ्रष्टाचार हो । माथिल्लो तहका अधिकारीले निगरानी नगर्दा तल्लो तहका कर्मचारीको गैरजिम्मेवारीपन बढेको छ ।
सफाइका लागि जिम्मेवार कर्मचारीहरूले जिम्मेवारी सम्पन्न गर्नुका साथै सो क्रममा आइपरेका अवरोधबारे उपल्लो अधिकारीसमक्ष नियमितरूपमा रिपोर्ट गर्नुपर्ने हो । यहाँ त जिम्मेवारी र रिपोर्ट केही पनि छैन । सफाइ कर्मचारीहरूको कामको नियमित अनुगमन र मूल्याङ्कन गर्ने र तिनीहरूलाई जवाफदेही बनाउने कार्यमा सम्बन्धित कार्यालयका अधिकारीहरू पनि चुकेका छन् । मातहतका कर्मचारीले जिम्मेवारी पूरा नगरेको पाइयो भने तिनलाई चेतावनी वा कारबाहीको प्रक्रिया कार्यालय प्रमखुले गर्न सक्नुपर्छ । सफाइका लागि प्रयोग हुने सामग्री र उपकरणहरूको पारदर्शिता पनि यहाँ जरुरी हुन्छ । पारदर्शिता देखाउन नसके हाकिमलाई कार्यालय सहयोगीले टेर्न छोड्छ । यस कारण पनि सरसफाइ हुन नसक्नुको सम्बन्ध भ्रष्टाचारसँग हुन्छ । सरकारी कार्यालयहरूलाई जनताले भर पर्न सक्ने तथा विश्वास गर्न सक्ने ठाउँ बनाउनु आजको आवश्यकता हो । सफाइको जिम्मेवारी पूरा गर्न नसक्ने कर्मचारीले जनताको करबाट तलब लिनु अनियमितता हो । सुधारको सुरुआत सफाइजस्ता आधारभूत कामबाट नै हुनुपर्छ । तब मात्रै सरकारी कार्यालयहरूलाई व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ।