बिपी पार्कमा महानगरले डोजर चलायो

प्रस, वीरगंज, २१ पुस/
वीरगंज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराउन थालेको छ । आइतवार महानगरपालिकाले डोजर प्रयोग गर्दै उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन थालेको हो । महानगरपालिकाले यस अघि दुईपटक सूचना जारी गरी जग्गा खाली गराउने प्रयास गरेको थियो । पहिलोपटक गत मङ्सिर २६ गते १५ दिनको समयसीमा दिइएको थियो । उक्त समयसीमा समाप्त भएपछि पुस १२ गते पुनः सात दिनको समयसीमासहित दोस्रो सूचना जारी गरिएको थियो । नगरप्रमुखका सल्लाहकार हरि श्रेष्ठका अनुसार बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिनेछ । आज पहिलो चरणमा उत्तरपट्टिको अतिक्रमण हटाइएको र भोलि महानगरको डोजर दक्षिणतर्फको अतिक्रमण हटाउँदै जाने श्रेष्ठको भनाइ छ । उनले भने, “विकास निर्माणका लागि जनताबाट सहकार्य अपेक्षित छ, र यसका लागि उक्त क्षेत्रमा रहेको बजार हटाउनु आवश्यक थियो ।”

महानगरको यस कदमले स्थानीय बासिन्दाहरूमा अन्योल थपिएको छ । उक्त क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आइरहेका विशेषतः दलित समुदायका व्यक्तिहरूले आफ्नो व्यवस्थापनबारे गुनासो गरेका छन् । उनीहरूले उचित विकल्पको व्यवस्थापन गर्न मागसमेत गरेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्