प्रमोद यादव, पंचगावाँ, २१ पुस/
पर्सा जिल्लामा पछिल्लो समय चीसो बढेसँगै पालिकाहरूले धमाधम जाडो बिदा दिन थालेका छन् । एक सातादेखि बाक्लो कुहिरो लाग्ने, पश्चिमी हावा चलेर चीसो बढेपछि पालिकाहरूले आइतवारदेखि वर्षे बिदामा कट्टा हुनेगरी जाडो बिदा घोषणा गर्न थालेका हुन् ।
कालिकामाई गापाले सबैभन्दा पहिले पुस २१–२५ गतेसम्म पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गरेको थियो । सो पालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्टले गत शुक्रवार पुस १९ गते सूचना प्रकाशन गरिएको बताए ।
त्यसपछि अहिले अन्य पालिकाहरूले पनि धमाधम जाडो बिदा दिन शुरू गरेका छन् । सखुवाप्रसौनी गापाले पुस २१–२३ गतेसम्म बिदा दिएको छ भने जगरनाथपुर गापाले २१–२४ सम्म बिदा दिएको छ । पोखरिया र पर्सागढी नपाले पुस २२ देखि माघ १ गतेसम्म बिदा घोषणा गरेका छन । त्यसैगरी छिपहरमाई गापाले पुस २२–२८ सम्म र धोबिनी गापाले पुस २२–२४ सम्म सम्पूर्ण विद्यालय बन्द गरेको छ ।
पुस महीना २९ गतेको र १ गते मकर सङ्क्रान्तिको सार्वजनिक बिदा भएकोले यी दुई पालिकामा माघ २ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउनेछन् । अहिलेसम्म घोषितरूपमा सातवटा पालिकाले जाडो बढेपछि बिदा दिएका छन् ।