प्रस, वीरगंज, २० पुस/
बहुदरमाई नगरपालिकामा पुस ५ गते भएको आगजनीबाट करीब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएपछि अहिलेसम्म कार्यालय पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
विद्यार्थीहरूको समूहले सो दिन फर्निचर, कम्प्युटर, ल्यापटप, ब्याट्रीमा आगजनी गरेका थिए । अर्धवार्षिक परीक्षा समयमा नभएको विषयमा विवाद भएपछि विद्यार्थीहरूले पुस ४ गते प्रदर्शन गरेका थिए । भोलिपल्ट अर्थात् पुस ५ गते बिहान १० बजे सर्वपक्षीय समझदारी गर्ने समयसीमा तोकिएको थियो तर त्यसको केही घण्टा अघि नै विद्यार्थीहरूले आगजनी गरेका थिए । आगजनीबाट नपाको लेखा, प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको कक्षबाहेक सबै कक्षको फर्निचरसहितका यान्त्रिक सामानहरूमा आगजनी गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले घटनाको दिनदेखि अहिलेसम्म आफू काठमाडौंमैं रहेको बताए । उनले आगजनीको कारण कार्यालय पूर्णरूपमा सञ्चालनमा आउन नसके पनि आकस्मिक कामहरू भइरहेको जानकारी गराए । उनले नगरप्रमुखले नगरसभाको प्रमाणीकरण नगर्दा खाता सञ्चालनमा आउन नसकेको र आर्थिक अवस्था नाजुक भएको बताए । उनले साउनदेखि आर्थिक कारोबार ठप्प भएको र नगरप्रमुखले आफूलाई हेर्नै नचाहेकोले अब आउनुको अर्थ नरहेको बताए ।
बहुदरमाई नपामा नगरप्रमुख सिंगासन साह र उपप्रमुख सुषमा कुशवाहाबीच लामो समयदेखि गुटबन्दी भई विवाद जारी छ । यही गुटबन्दीमा प्रमुख प्रशासकीय अधिकृत मुस्तफा बहुमत बोर्ड सदस्य रहेको उपप्रमुखको पक्षमा देखिएपछि नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको सरुवा माग गर्दै आएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पछिल्लो समय स्वास्थ्यकर्मीहरू बहाल गर्दा नगरप्रमुख रिसाएका हुन् र त्यसै समयदेखि बहुदरमाईमा बेथिति बढ्दै गएको अनुमान गरिएको छ । उपप्रमुख कुशवाहा एमालेबाट निर्वाचित भएको र अहिले सो क्ष्Fेत्रका एमाले सांसद राजकुमार गुप्ता सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्री भएका कारण प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको सरुवा हुन सकेको छैन ।
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाको सरुवा हुनुपर्ने माग गर्दै आएका छन् । उनले नपाको बेथिति बढाउनमा प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको भूमिका रहेको र उनको चालचलन निको नभएको भन्दै सरुवाको माग गर्दै आएका छन् र सरुवा नहुन्जेलसम्म कारोबार हुन नसक्ने बताएका छन् । उपप्रमुख कुशवाहालगायत वडाध्यक्ष र कार्यपालिका सदस्य गरी ११ जना प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको बचाउमा छन् । उनीहरूले बहुदरमाईमा बेथिति बढ्नुको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखको भएको आरोप लगाउँदै आएका छन् ।