पर्सागढीमा धूमधामले मनाइयो विजयोत्सव

प्रस, पर्सागढी, १९ पुस/
पर्सागढी नगरपालिकामा शुक्रवार विजय महोत्सव मनाइएको छ । २१० वर्ष पहिले तत्कालीन ब्रिटिश सेनालाई विसं १८७१ पुस १९ गते पराजित गरेको उपलक्ष्यमा आज पर्सागढीमा विजयोत्सव मनाइएको हो ।

आजकै दिन स्थानीय रञ्जीत चौधरीको नेतृत्वमा रहेको टोलीले स्थानीय र गोर्खाली सेनाको सहयोगमा पर्सागढी नपाबाट ब्रिटिश सेनालाई पराजित गर्दै लखेटेको थियो । सोही बखतदेखि पर्सागढीमा विजय महोत्सव मनाइँदै आएको हो । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पर्सागढी मन्दिरलाई वीरताको पहिचान कायम गरी रञ्जीत चौधरीलाई संरक्षणको जिम्मा दिएका थिए । तत्कालीन अवस्थामा मन्दिरको नाममा सयौं बिघा जग्गा रहेको तर अहिले दुई बिघामा खुम्चिएको छ । मन्दिरको जग्गा व्यक्तिविशेषले आआफ्नो नाममा गराइसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं कानूनमन्त्री अजयकुमार चौरसियाले पर्सागढीको ऐतिहासिक महŒव झल्काउने पर्सागढी मन्दिरको अतिक्रमित जग्गा फिर्ता गराउने र बाटोघाटोको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यही अभिव्यक्ति गत वर्षको विजयोत्सव मनाउने क्रममा पनि व्यक्त गरेका थिए ।

नगरप्रमुख गोकर्ण पाठकले मन्दिरको दुवैतर्पm खोला भएकोले विकासमा बाधा भएको बताए । उनले डिआरपी निर्माण गरेर प्रदेश र केन्द्र सरकारमा पठाएको बताए । उनले खोलामा पुल मात्र बनेको खण्डमा नगरपालिकाले अन्य भौतिक संरचनाको निर्माण गर्ने बताए ।

बृजमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्वनगरप्रमुख लोकनारायण यादव, नितेन्द्र साह, उपप्रमुख पूजा चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि विजयोत्सवको अवसरमा पर्सागढी नपा हरपुरबाट रमौली, जिङ्गना हुँदै बाजागाजासहित स्थानीय, जनप्रतिनिधि, नेपाली सेनासमेतको टोली पर्सागढी मन्दिर पुगेको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्