अमृतधारा छोटी भन्सार ठोरीबाट अस्थायी पैठारी बन्द

चिरञ्जीवी सापकोटा, ठोरी, १९ पुस/
ठोरी गाउँपालिकामा रहेको अमृतधारा छोटी भन्सारबाट अस्थायी पैठारीको कामकाज बन्द भएको छ । गत वैशाख १९ गतेदेखि चालू भएको भारतीय सवारीसाधनको अस्थायी पैठारी पुस १६ गतेदेखि बन्द भएको अमृतधारा छोटी भन्सार कार्यालयले जानकारी दिएको छ ।

अस्थायी पैठारीको अनुमति भन्सार विभागले नै डिसेम्बर अन्तिम दिनसम्म मात्र तोकेको र पुनः नवीकरण नभएकोले हाललाई अस्थायी पैठारीसम्बन्धी काम रोकिएको सो कार्यालयले जनाएको छ । यसको समयावधि सकिनुपूर्व नै विभागलगायत अन्य सम्बन्धित निकायलाई परिपत्र गरिएको र हालसम्म अस्थायी पैठारीसम्बन्धी थप सूचना नआएकोले भारतीय सवारीसाधनको भन्सार रोकिएको समेत सो कार्यालयले जानकारी दिएको छ ।

वैशाख १९ देखि पुस १६ गतेसम्म रु १० लाख १९ हजार अस्थायी पैठारी राजस्व सङ्कलन भएको अमृतधारा छोटी भन्सारमा अन्य कारोबार भने यथावत् नै रहेको छ ।

भारतीय गाडीहरूको भन्सार कट्न छाडेको खबर पाएपछि ठोरी गापाले सम्बन्धित निकायसँग नवीकरण प्रक्रिया अघि बढाएको गापाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

ठोरीमा भारतीय सवारीसाधनको भन्सार कट्छ भन्ने बुझेका भारतीय पर्यटकहरू ठोरी आइपुग्दा निराश भएर फर्किनुपरेको ठोरी बजार व्यवस्थापन समितिका अध्यक्ष बलराम सापकोटाले बताए । दैनिकरूपमा १० वटा जति गाडीको भारतीय पर्यटकले भन्सार गरी नेपालका विभिन्न स्थान जाने गरेकामा नयाँ वर्ष सन् २०२५ को आगमनसँगै सवारीसाधनको भन्सार काट्न छोडेपछि ठोरीवासी मात्र नभई भारतीय पर्यटकहरूमा समेत निराशा छाएको ठोरी भन्सार परिसरमा होटल व्यवसाय गर्दै आएका होटल व्यवसायी दिनेश नेपालले बताए ।

ठोरी नाका हुँदै नेपाल प्रवेश गर्न रुचाउने भारतीय पर्यटकहरूको सङ्ख्यामा बढोत्तरी हुँदै गएको विभागलाई समेत जानकारी भएको हुँदा नेपाल सरकारले अस्थायी पैठारीको नवीकरण गर्नुपर्ने समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनालले बताएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्