गुठीको ८० बिघासहित दुई सय बिघा अतिक्रमित जग्गा महानगरको अधीनमा

प्रस, वीरगंज, १८ पुस/
वीरगंज महानगरपालिका अन्तर्गतको भौैतिक पूर्वाधार सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण समितिले हालसम्म १२५ बिघाभन्दा बढी सार्वजनिक जग्गा अधीनमा लिएको समितिका संयोजक प्रदीप चौरसियाले बताए ।

उनले वीरगंज महानगरपालिकाको नेतृत्वमा राजेशमान सिंह प्रमुख भएपछि बनेको समितिले हालसम्म १२५ बिघा जग्गा अतिक्रमणमुक्त गरेको र अझै १०० बिघा जग्गा अतिक्रमणमुक्त गर्ने अभियानमा रहेको बताएका छन् । अहिले अतिक्रमणमुक्त गरिएका जग्गाहरूमा सबैभन्दा बढी महानगरमा थपिएका साबिकका गापा र हालको नयाँ वडाहरू छन् । वीरगंज–१९ साबिक बर्वागोग गाविस, वीरगंज–२०, साबिक हरपतगंज, वीरगंज–२३, साबिक परसौनीबिर्ता, वीरगंज–२४, साबिक रामगढवा, वीरगंज–२६, साबिक सुगौली बिर्ता, वीरगंज–१८ साबिक बगही, वीरगंज–२९, साबिक बसडिलवा, वीरगंज–३०, साबिक लालपर्सा, वीरगंज–१७, साबिक अलौ, वीरगंज–२२, साबिक मनियारी, वीरगंज–२५, साबिक श्रीसिया, वीरगंज–२७, साबिक उदयपुर घुर्मी, वीरगंज–१८, साबिक भवानीपुर र वीरगंज ३१, साबिक बेलवा गाविस तथा वीरगंज महानगरका पुराना वडाहरू वडा नं १०, २, ५, ६, ९, ७, ३, ४, १४, १६ लगायत वडाहरूमा रहका अतिक्रमित तथा सार्वजनिक जग्गा महानगरको अधीनमा ल्याएको समितिका सल्लाहकार हरि पोखरेलले बताए । उनले गुठी संस्थान पर्साले महानगरलाई गुठी अन्तर्गतका अतिक्रमित जग्गाहरू मुक्त गराउन आग्रह गरेको र सो अनुरूप गुठीको नाममा रहेको पर्सागढी नगरपालिकाको ८० बिघा १४ कठ्ठा १० धुर जग्गा अतिक्रमणमुक्त गराइएको बताएका छन् ।

उनले हाल वडा नं ९ विपी उद्यानमा रहेको नेपाल यातायात संस्थानको जग्गामा व्यक्ति विशेषले दाबी गर्दै मुद्दा दिएको र सर्वोच्च अदालतको आदेशबाट निजले दिएको रीट निवेदन खारेज भएर महानगरको नाममा एक बिघा ४ कठ्ठा ९ धुर जग्गा कायम भएको बताए । योसँगै विपी उद्यानमा महानगरको १० बिघा जग्गा कायम भएको छ ।

तत्कालीन नेपाल यातायात संस्थानसँग महानगरले १० बिघा जग्गा रजिस्टे«शन गरेर खरीद गरेको थियो । त्यसपछि सो जग्गामध्ये एक बिघा चार कठ्ठा ९ धुरमा व्यक्ति विशेषले आप्mनो हकदाबी देखाएर मुद्दा गरेका थिए । वीरगंज महानगरपालिकाका सल्लाहकार पोखरेलले महानगरले वीरगंज–४ मा रहेको माईराम पोखरीको जग्गालाई पनि अतिक्रमणमुक्त गराएको र १८ कठ्ठामा सीमित उक्त जग्गा अहिले दुई बिघा एक धुरमा ल्याएको बताएका छन् ।

यो जग्गामा अहिले चिल्डे«न पार्क निर्माण भएको छ । यस अघि मझौला शहर एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत एडिबीले माईराम पोखरीको १८ कठ्ठा जग्गामा चिल्ड्रेन पार्क निर्माण गरेको थियो । नगरप्रमुख सिंहले नेतृत्व सम्हालेपछि सो ठाउँलाई अतिक्रमणमुक्त गर्न अभियान चालेको र समितिले २२ कठ्ठा जग्गा अतिक्रमणमुक्त गरेको सल्लाहकार पोखरेलले बताए ।

समितिका संयोजक चौरसियाले महानगरले अतिक्रमणमुक्त गराएको जग्गामध्ये नगवामा सर्लाहीको भरत तालजस्तै ताल बनाउन डिआरपी तयार गरिसकेको बताए । यसैगरी, अन्य क्षेत्रमा अतिक्रमणमुक्त गरिएका जग्गाहरूमा जनचाहना अनुरूप कार्य गरिने बताए । अहिले अतिक्रमणमुक्त गरिएका जग्गाहरूमा किलाखुटी र तारबारले घेर्ने काम गरिएको संयोजक चौरसियाले बताए ।

समितिका सल्लाहकार पोखरेलले महानगर अन्तर्गतको वडा नं १७, २४, २७, ३१ मा अहिले पनि सयौं बिघा जग्गा अतिक्रमणको शिकार भएको र त्यसलाई मुक्त गर्ने गृहकार्य भइरहेको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्