नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गर्ने सुविधा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्भव भएको छ । स्वास्थ्य सेवामा मुुलुकको यो ऐतिहासिक उपलब्धि हो । यस अघि यस्ता परीक्षणका लागि नमूना भारत वा अन्य मुलुकमा पठाउनुपर्ने बाध्यता थियो । यो सुविधा अब नेपालमैं उपलब्ध हुनुले, विशेषगरी क्यान्सर उपचार र रोकथामका लागि ठूलो राहत पुग्नेछ । क्यान्सर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वंशाणुगत परीक्षण गर्न सफल भएको कुरा प्रविधि हस्तान्तरणका साथै मुलुकको स्वास्थ्य क्षेत्रमा भएको दीर्घकालीन लगानी र विशेषज्ञताको परिणाम पनि हो । वंशाणुगत परीक्षणले क्यान्सरको सम्भाव्य जोखिम पहिचान गर्न मदत गर्दछ । यसले प्रारम्भिक उपचार र रोकथाममा महŒवपूर्ण भूमिका खेल्न सक्छ । स्तन क्यान्सर विश्वव्यापी रूपमा स्वास्थ्य समस्या बनिरहेको छ । नेपालजस्तो देशमा, जहाँ स्वास्थ्य सेवा अझै पनि सर्वसाधरणको पहुँचमा चुनौतीपूर्ण छ । यस्तो परीक्षणले क्यान्सरका जोखिमयुक्त परिवारहरूको जीवन रक्षा गर्न ठूलो योगदान पु-याउने छ । चिकित्सकहरूले यस परीक्षणलाई स्तन क्यान्सरको प्रारम्भिक पहिचान र रोकथामको लागि ‘गेम चेन्जर’ मानेका छन् ।
परीक्षणका लागि विगतमा भारत र अन्य मुलुकमा नमूना पठाउनुपर्ने हुँदा समय र खर्च दुवै ठूलो चुनौती थिए । भारतमा यस्तो परीक्षणका लागि झन्डै ६० हजार रुपियाँसम्म खर्चिनुपथ्र्यो । जसले नेपालमा क्यान्सर परीक्षण गराउनै पर्ने धेरैै व्यक्तिलाई बाधा पुगिरहेको थियो । अब यो परीक्षण नेपालमैं ३० हजार रुपियाँमा सम्भव भएको छ । यसले बिरामीको खर्च कम गर्नुका साथै देशकै आर्थिक बचतमा उल्लेख्य भूमिका निर्वाह गर्नेेछ । वार्षिक करीब १२ करोड रुपियाँ विदेशी प्रयोगशालामा जाने क्रम अब रोकिने छ । यो उपलब्धि आर्थिक क्षेत्रको लागि पनि महत्वको छ । वंशाणुगत परीक्षणले स्तन क्यान्सरको जोखिमबारे सही जानकारी दिन्छ । क्यान्सरको सम्भावना भएका व्यक्तिहरूले समयमैं चिकित्सकीय परामर्श र उपचार गर्न सकेमा रोगको गम्भीर अवस्था आउनबाट जोगिन सकिन्छ । यो परीक्षणले व्यक्ति र परिवारमा मात्र नभई समाजमा क्यान्सरप्रतिको सचेतनामा सुधार ल्याउन पनि उल्लेखनीय भूमिका खेल्नेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको यो पहलले सरकारी स्वास्थ्य संस्थाहरूलाई थप विश्वासिलो बनाउने काम गरेको छ । यस अघि सरकारी क्यान्सर अस्पतालहरूमा उपलब्ध नभएका धेरै परीक्षणहरू अहिले जनस्वास्थ्य प्रयोगशालाले नियमितरूपमा गरिरहेको छ । यो सर्वसाधरणलाई सरकारी स्वास्थ्य प्रणालीप्रति भरोसा बढाउने आधारसमेत बनेको छ । यस ऐतिहासिक प्रगतिका बावजूद, अझै पनि धेरै चुनौतीहरू छन् । जनसङ्ख्याको ठूलो हिस्सा स्वास्थ्य सेवामा पहुँच पाउन सकिरहेको छैन । क्यान्सर परीक्षणको सुविधालाई देशका दुर्गम र पिछडिएका क्षेत्रमा विस्तार गर्न आवश्यक छ । साथै, यस्तो परीक्षणलाई थप किफायती र सहज बनाउन सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ । अर्कोतर्फ स्तन क्यान्सरबारे सचेतना जरुरी छ । क्यान्सर अस्पतालमा परीक्षण गराउन पुगेका अधिकांश स्तन क्यान्सर पीडितहरू विलम्ब पुग्ने गरेको पाइएको छ । स्वास्थ्य सचेतनाको ज्ञान र स्तन क्यान्सरको लक्षणबारे स्पष्ट हुन सके प्रारम्भिक चरणमैं अस्पताल पुग्न सकिन्छ । प्रारम्भिक चरणमा उपचार पाउन सके रोग निर्मूल पार्न सकिने कुरा निश्चित छ ।