युक्रेनले ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुवैमा सङ्घर्ष गर्छः जेलेन्स्की

किएभ, १७ पुस/एएफपी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आप्mनो मुलुकको अधिकारका विषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन् ।

युक्रेनी नेताको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करीब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको रूसी सेनासँग लडिरहेको छ ।

एएफपीको एक विश्लेषण अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रूसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ र सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।

“आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी पमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आआप्mनो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ किनकि केवल यस्तो गर्नाले मात्र यूक्रेनले सम्मान पाउँछ र उसको आवाज सुनिन्छ”–जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।

“सन् २०२५ हाम्रो वर्ष होस्, युक्रेनको वर्ष । हामी जान्दछौं हामीलाई उपहारको रूपमा शान्ति दिइने छैन, तर हामी रूसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौं । हामी सबै यही चाहन्छौ”– उनले भने ।

अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नु अघि किभलाई समर्थन गर्ने होडमा करीब छ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले आपूm सत्तामा आएपछि ‘२४ घण्टाभित्र’ द्वन्द्व अन्त्य’ गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको उक्त भनाइले युक्रेनमा शान्तिको लागि क्रेमलिनले हाल नियन्त्रणमा लिएको सबै भूमि त्याग्न बाध्य हुने सम्भावना बढेको छ ।

जेलेन्स्कीले भने–“नयाँ अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति हासिल गर्न र पुटिनको आक्रामकता अन्त्य गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलवार देशवासीलाई सम्बोधन गर्दै युक्रेनमा भएको युद्धको स्पष्ट उल्लेख गरेनन् तर रूसी सैनिकको ‘साहस र बहादुरी’को प्रशंसा गरेका थिए । रासस