प्रस, वीरगंज, १६ पुस/
नेपाली काङ्ग्रेस, पर्साले मङ्गलवार पार्टी कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केको सम्झनामा नेकाले प्रत्येक वर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि राजकृष्ण अमात्यले २०३३ पुस १६ गते नेकाका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबहादुर प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेता तथा कार्यकर्ताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आठ वर्ष लामो भारतको निर्वासित जीवन त्याग गरी नेपाल फर्केको आजको दिनमा प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको बताए ।
तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गर्न र राष्ट्रिय एकता कमजोर हुन नदिन मेलमिलाप तथा एकताको नीति लिएर आजभन्दा ४७ वर्षअगाडि बिपीसमेतका नेताहरू नेपाल फर्केको सम्झनामा दिवस मनाउँदै आएको उनले बताए ।
कार्यक्रमका अध्यक्ष्F नेका, पर्साका उपाध्यक्ष रामनारायण कुर्मीले बिपीले प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेको बताए । उनले बिपीले अघि सारेका प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादको दृष्टिकोण अहिले पनि सान्दर्भिक रहेको चर्चा गरे ।
कार्यक्रममा रामरूप कुर्मी, अनिल सिंह, प्रेमशङ्कर श्रेष्ठ, प्रकाश अमात्य, हरेन्द्र यादव, शान्ति कार्कीलगायतको सहभागिता थियो । कार्यक्रममा नेपाल प्रेस युनियनको तर्फबाट नेपाल पत्रकार महासङ्घ, पर्साको निर्वाचनमा सचिव पदमा विजयी विजय चौहान र सदस्यमा निर्वाचित राहुल गुप्तालाई फूल, माला, अबीर लगाएर सम्मान गरिएको थियो ।