प्रस, परवानीपुर, १६ पुस/
वीरगंज नाका भएर नयाँ वर्ष मनाउन ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम जारी छ । २५ डिसेम्बर क्रिसमसको पूर्वसन्ध्यादेखि र डिसेम्बर ३० र ३१ का दिन ठूलो सङ्ख्यामा सवारीसाधन लिएर भारतीय पर्यटकहरू नेपाल प्रवेश गरिरहेको वीरगंज भन्सारले जनाएको छ ।
वीरगंज भन्सारका सूचना अधिकारी अमित तिवारीले हिजो र आज गाडीको चाप अत्यधिक रहेको र साँझ ५ः३० बजेसम्म तीन हजार ६०० भारतीय चारपाङ्ग्रे गाडी जीप, कार, भ्यान वीरगंज भन्सार भएर नेपाल भित्रिएका र अझै तीन–चार सय गाडी लाइनमैं रहेकामा राति १० बजेसम्म भित्रिने बताए । ३१ डिसेम्बरका दिन करीब चार हजार गाडी भित्रिने सम्भावना रहेको उनले बताए । त्यसैगरी, २९ डिसेम्बरमा ७००, ३० डिसेम्बरमा १५०० गाडी नेपाल भित्रिएका थिए । २९ डिसेम्बरभन्दा अगाडि प्रतिदिन ४०० को हाराहारीमा गाडी नेपाल भित्रिने गरेको उनले बताए । भारतका बिहार, उत्तर प्रदेश, दिल्ली, महाराष्ट्र, राजस्थान, गुजरातलगायत राज्यबाट पर्यटकहरू नयाँ वर्ष मनाउन नेपाल आउने गरेका छन् । नेपाल र भारतको राजधानी काठमाडौं र दिल्ली जोड्ने सबैभन्दा छोटो सडकमार्ग वीरगंज–रक्सौल नाका भएर हरेक वर्ष भित्रिने भारतीय पर्यटकहरूको चाप अत्यधिक हुने गरेको छ । पर्यटकहरू जनवरी २ को साँझदेखि भारत फर्कने क्रम शुरू हुन्छ भने एक सातासम्म फर्किने क्रम जारी रहन्छ । वीरगंज नाकाबाट प्रवेश गर्ने भारतीय पर्यटकहरू हेटौंडा, दामन, चितवनको सौराहा, कास्कीको पोखरा, राजधानी काठमाडौंलगायत ठाउँमा नयाँ वर्ष मनाउन जान्छन् ।
यिनीहरूमध्ये केही आप्mनै निजी कार, जीप, भ्यान लिएर खाना पकाउने सामग्रीसहित पनि आएका हुन्छन् । त्यसैगरी, पछिल्लो समय मध्यम वर्गीय पर्यटकहरू पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पनि हजारौंको सङ्ख्यामा नयाँ वर्ष मनाउने आउने गर्छन् । भिखना ठोरी नाका र वीरगंज तथा अन्य छोटी नाकाबाट भारतीय पर्यटकहरू साइकल, मोटरसाइकल, हलुका सवारीसाधन लिएर प्रवेश गर्छन् र ठोरीमा आएर खुला चौर, ठुटे खोला, राईधारानजीक पिकनिक गरी नयाँ वर्ष मनाइ घर फर्कने गर्छन् ।
नयाँ वर्ष १ जनवरीका दिन ठोरीको पिकनिकस्थलमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन । भारतीय पर्यटकहरू नेपाल प्रवेश गरे तापनि वीरगंजका होटलहरूमा नबस्ने हुँदा सोचे अनुरूपको लाभ नहुने गरेको होटल व्यवसायीहरू बताउँछन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले नयाँ वर्ष आउनु एक हप्ता अघिदेखि अकुपेन्सी १५ प्रतिशत बढे तापनि भारतीय पर्यटकहरूलाई वीरगंजमा रोक्न नसक्दा यहाँका होटल व्यवसायीहरूले लाभ लिन नसकेको बताए । उनले पहिले ४०–५० प्रतिशत अकुपेन्सी थियो भने अहिले सो बढेर ५५–६५ प्रतिशत भएको बताए । तर पनि वीरगंजका होटलहरू अहिले पनि पाहुनाको पर्खाइमा रहेको उनले जानकारी दिए । वीरगंजमा दियालो लड्र्स प्लाजा, सरोबर प्रोटिक, क्लार्क गरी तीनवटा चारतारे होटल, तीनतारे भिस्वा, दुई तारे सुरज, मकालु, पूजनलगायत गरी ८० भन्दा बढी होटल छन् ।