सहज मलखाद उपलब्ध गराउन प्रजिअलाई ज्ञापन

प्रस, वीरगंज, २७ मङ्सिर/

जनमत पार्टी, पर्साले मलखादको कालोबजारी रोक्न तथा किसानलाई सुपथ मूल्यमा सहज तरीकाले मलखाद वितरण गर्नुपर्ने माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। 

बिहीवार जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले प्रजिअलाई ज्ञापनपत्र बुझाएको थियो। 

पर्सा जिल्लामा मलखादको कालोबजारी भइरहेको, मलखाद उपलब्ध रहे पनि महँगो मूल्यमा मलखाद किन्नुपरेको, पार्टीगत आधारमा मलखाद वितरण गर्ने कार्य भइरहेको तथा जनमत पार्टीसँग आबद्ध किसानहरूलाई मलखादबाट वञ्चित गरिएको भन्दै कारबाई गर्न प्रजिअलाई ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा पर्सा जिल्लामा मलखादमा भइरहेको कालोबजारी अविलम्ब रोक्न, कालोबजारी गरिरहेका डिलरहरूमा छापा मारेर नियन्त्रणमा लिई कारबाई गर्न र किसानहरूलाई विभेद नगरी सहज तरीकाले सुपथ मूल्यमा मलखाद उपलब्ध गराउन माग गरेको छ। 

किसानहरूलाई गहुँलगायत अन्य बाली छर्ने बेला भएकोले र समयमा मलखाद नपाएर गहुँलगायत अन्य बालीको खेतीबाट वञ्चित भए उनीहरूको गुजारासमेतमा पनि असर पर्ने भएकोले सो समस्या अविलम्ब समाधान गर्न जनमत पार्टी पर्साले माग गरेको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्