प्रस, परवानीपुर, २६ मङ्सिर/

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुधवार पर्साबाट सडकमार्ग हुँदै सिमरा र त्यहाँबाट हवाईमार्गमा काठमाडौं लगिएको छ। त्यहाँबाट उनलाई पोखरा लैजाने तयारी छ। 

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार सरकारी वकीलको कार्यालय पर्सामा उनको बयानको काम सकिएपछि आज बिहानै काठमाडौं लगिएको बताए। सानो पाइला सहकारी संस्था वीरगंजको करोडौं रकम गोेर्खा मिडिया नेटवर्कमा दुरुपयोग भएको भन्दै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको उजूरीको सम्बन्धमा छानबीन गर्न पोखराबाट उनलाई काठमाडौं हुँदै वीरगंज ल्याइएको थियो। 

कानूनी प्रक्रिया पूरा भइसकेपछि उनलाई पोखरा फिर्ता पठाइएको पर्सा प्रहरीले जनाएको छ। लामिछानेविरुद्ध कास्की, रूपन्देही, चितवन, काठमाडौं, पर्सा गरी पाँचवटा जिल्लामा सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलिरहेको छ। करीब ५५ दिनदेखि उनी प्रहरी हिरासतमा छन्।

पर्साकै मुद्दामा पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाललगायतको बयान सकिएर उनीहरूलाई यस अघि नै फिर्ता पठाइएको पर्सा प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here