धर्मेन्द्र चौरसिया, पोखरिया, १६ मङ्सिर/
बर्सेनि सडकको विकास भएसँगै धानको परालका लागि व्यापारीहरू अहिले खेतमैं पुगेर खरीद गर्दा पर्सेली किसानहरू हर्षित भएका छन् ।
हुलाकी सडक अन्तर्गत पोखरिया–लङ्गडी–भिस्वा सडकखण्ड, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्ड निर्माण भएसँगै यस क्षेत्रका किसानहरूको खेतमा व्यापारीहरू ट्रक, जीप लिएर जाने र खेत, खलिहानबाटै किसानको पराल खरीद गर्ने गरेका छन् । सडक विस्तार नभएको बखत ग्रामीण क्षेत्रका किसानहरूले धानको पराल, गहुँको छवाली, रबीबालीका भुस त्यत्तिकै जलाएर नष्ट गर्ने गरेका थिए । तर अहिले यी सबै पदार्थ बिक्री हुन थालेका छन् ।
पोखरिया नगरपालिका–४ का किसान हरेन्द्र चौहानले व्यापारीहरूले खेतबाट पराल खरीद गरी लैजाने गरेको बताए । उनले वस्तुभाव भएका किसानहरूले आहाराका लागि राख्ने र बढी भएको पराललाई खेतमैं जलाएर नष्ट गर्दै आएकामा अहिले व्यापारीहरूलाई बिक्री गरिरहेको बताए बताए । उनले व्यापारीहरूले प्रतिकट्ठा रु दुई सयका दरले धानको पराल खरीद गर्ने गरेको बताए ।
धानको पराल बेचेर खासै आम्दानी नभए पनि गहँुबालीको लागि खेत जोताइ र रासायनिक मलको खर्च टार्न सहयोग पुगेको सोही ठाउँका धनित मियाँ बताउँछन् । उनले व्यापारीहरूले नै ज्यामी लगाएर पराल ओसार्ने गरेकाले बिक्री गर्न सहज भएको बताए । तर यसरी बिक्री गर्दा दाम राम्रो नआउने यादवको भनाइ छ । उनले हार्भेस्टर मेशीनबाट कटानी गरेको धानको पराल पनि बिक्री हुने गरेको बताए । अहिले ग्रामीण क्षेत्रमा परम्परागतरूपमा ज्यामी लगाएर धान कटानीभन्दा हार्भेस्टरबाट धान कटानी गर्ने परम्पराको विकास भएको छ ।
खेत, घर, खलियानमा पुगेर पराल खरीद गर्ने व्यापारीहरूले किसानसँग खरीद गरेको पराल वस्तुभाव भएका स्थानमा र कागज उद्योगहरूमा बढी मुनाफा लिएर बिक्री गर्दै आएका छन् । धानबाली भिœयाएका किसानहरूले तत्काल बिक्री गर्दा मूल्य नआउने देखेर केही किसानहरूले पराललाई खलिहानमा भण्डारण गरेर राखेका छन् । अहिले पराल बिक्री नगरी भण्डारण गरेर राखेका र उचित मूल्यमा बिक्री गर्ने सोच बनाएको किसानहरू बताउँछन् ।
पर्सा जिल्लामा पनि वस्तुभावका लागि परालको खरीद–बिक्री हुन्छ । धानबाली नगण्य मात्रामा हुने तर वस्तुभाव भने बढी राखेका ठोरी गापाका किसानहरूले पराल खरीदमा बढी चासो देखाउँदै आएका छन् । यसका साथै पर्साबाट चितवन, काठमाडौंसम्म माग भए अनुसार पराल, छवाली तथा रबीबालीको भुस खरीद गरी पु¥याउने गरेको एकजना व्यापारीले बताए ।
अहिले पराल तथा भुसलाई शहरमा खोलिएका गाईभैंसी फार्ममा पनि बिक्री गर्ने गरेको किसानहरू बताउँछन् । व्यावसायिकरूपमा गाईभैंसी पालन गरेका फार्महरूमा किसानसँग खरीद गरेर केही व्यापारीहरूले मनग्य आम्दानी गरिरहेका छन् । स्थानीय तहको सरकार गठन भएपछि यो सात वर्षको अवधिमा गाउँटोलका सहायक सडकहरू पनि ३० फिटको ग्राभेल, पक्की बनेका छन् र सडक सञ्जालले किसानहरूलाई अहिले आफ्नो बालीका साथै पराल, भुसाको पनि बजारीकरण गर्न सजिलो भएको छ ।