प्रस, वीरगंज, १६ मङ्सिर/
बारा जिल्लाका १६ वटै पालिकाले बलिका लागि विश्व प्रख्यात पञ्चवर्षीय गढीमाई मेलाका लागि पालिकास्तरमा बिदा दिने भएका छन् ।
यही मङ्सिर २ गते १६ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले गढीमाई मेलालाई लक्षित गरेर आआफ्नो पालिकामा बिदा दिने निर्णय गरेको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथुप्रसाद साहले बताए ।
उनले कलैया उपमहानगरपालिका कार्यालयले बलिदानको दिन मङ्सिर २३ र २४ गते आइतवार र सोमवार बिदा दिने बताए ।
गढीमाई मेलास्थल महागढीमाई नगरपालिका कार्यालयले भने मङ्सिर १६ गते सूचना प्रकाशित गर्दै मङ्सिर २१ देखि २६ गतेसम्म ६ दिन बिदा घोषणा गरेको छ । २१ गते शुक्रवारदेखि २६ गते बुधवारसम्मका लागि सो नगरपालिकाले अत्यावश्यक सेवाहरूबाहेक वडा कार्यालय, नपाभित्र रहेका सरकारी कार्यालयहरू, शिक्षण संस्थाका साथै वित्तीय संस्थाहरू र सङ्घसंस्थाहरू पनि बन्द रहनेगरी सार्वजनिक बिदा दिएको छ ।
यसपटकको गढीमाई मेला यही मङ्सिर १ गतेदेखि शुरू भइसकेको छ भने मुख्य पूजा भोलि मङ्सिर १७ गते सोमवारदेखि हुनेछ । भोलिदेखि मुख्य पूजा शुरू हुने भएकोले आजदेखि नै मन्दिरमा भीड बढ्न थालेको छ । गढीमाई मन्दिरसम्म पर्सा, रौतहट र छिमेकी भारतबाट आउजाउ गर्ने सडकहरू पक्की बनेका कारण भक्तजनहरू मेला भर्न आआफ्नो सवारीसाधनबाट जाने–आउने गर्दैछन्, जसले गर्दा मन्दिरमा पहिले जस्तो ठूलो भीड देखिएको छैन । मेलामा मनोरञ्जनका साधनहरू, खाजापसल, होटललगायतका पसलहरू सञ्चालनमा आइसकेका छन् ।