प्रस, वीरगंज, १६ मङ्सिर/
नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । समाजवादी पत्रकार सङ्गठन नेपाल, पर्साले आयोजना गरेको २१ हजार राशिको सो पुरस्कार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइतवार रेडियो वीरगंजमा आयोजित कार्यक्रमबीच पत्रकार पटेललाई प्रदान गरे ।

कार्यक्रममा उनले सत्यतथ्यका आधारमा पत्रकारिता गर्न सुझाए । पछिल्लो समयमा विकसित विद्युतीय समाचारमाध्यमहरूले झूटा समाचारहरू पस्किएर विश्वसनीयता गुमाइरहेका कारण जिम्मेवार पत्रकारिता गर्न सुझाए । कार्यक्रममा उनले गलत र भ्रमित समाचारबाट आफू पनि पीडित बनेका घटनाहरू सुनाएका थिए ।

फरक प्रसङ्गमा उनले राज्यसत्ता सञ्चालनकर्ताहरूको दोहोरो नीतिका कारण भ्रष्टाचार मौलाएको र जनताले सास्ती भोग्नुपरेको बताए । उनले कर्मचारी, सचिवदेखि मन्त्रीहरू सबै भ्रष्टाचारमा लिप्त बनेकाले देशमा सुशासन ल्याउन कठिन भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिएर अहिलेको सरकार आफैं सबैथोक जान्ने बनेकोले ओरालो लाग्दै गरेको आरोप लगाए ।

उनले राज्यसत्तामा रहेकाहरूले देशमा हुने विकास निर्माणलगायतका कार्यहरूको अनुगमन प्रणाली दरिलो नपारेका कारण नै भद्रगोल अवस्था सृजना भएको आरोप लगाउँदै अनुगमन प्रणालीलाई चुस्तदुरुस्त पार्न सुझाव दिएका थिए ।

उनले अहिलेको सरकारको कार्यशैली निरङ्कुश भएको आरोप पनि लगाए । उनले पर्साका एकजना पत्रकारलाई प्रहरी लगाएर झूटा मुद्दामा फसाउने काम भएको बताए । भ्रष्टाचारको पोल खुल्ने डर, त्रासले झूटा मुद्दामा फसाउने प्रपञ्च रचिएको नेता नेपालले आरोप लगाए । उनले उक्त घटनाको सूक्ष्म जाँच गर्न माग गरे ।

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले दिवङ्गत पत्रकार सर्राफले प्रेसजगत्मा पु¥याएको योगदान सराहनीय भएको र उनको निधनले समाजमा अपूरणीय क्षति पुगेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरू रामचन्द्र साह, दिनेश राई, मनोज चौधरी, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा शाखा उपाध्यक्ष युवराज खड्का, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष दीपक गौतम, रेडियो वीरगंजका अध्यक्ष धु्रव साह, फोटो पत्रकार पकङ्ग श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समाजवादी प्रेस सङ्गठन, पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here