प्रस, ठोरी, १५ मङ्सिर/
वडाध्यक्षहरूले भोग्नुपर्ने समस्या समाधानमा एकजुट हुन र वडाध्यक्षहरूबीच एकता कायम गर्न पर्सा जिल्लाका वडाध्यक्षहरू एकजुट भएका छन् । ठोरी गापाका वडाध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा शनिवार पर्साका वडाध्यक्षहरूको ठोरी भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गर्दै वडाध्यक्षहरू एकजुट र सङ्गठित हुने निर्णय गरेको छ ।

ठोरी गापाको कार्यालय, घ्याङडाँडामा सम्पन्न वडाध्यक्षहरूको भेलाले पटेर्वासुगौली गापाका वडाध्यक्ष विजय गैरेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । स्थानीय सरकारको अङ्गका रूपमा काम गरिरहँदा वडाध्यक्षहरूले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन, वडाध्यक्षहरूको क्षमता अभिवृद्धि गर्न तथा वडाध्यक्षहरूबीचमा एकता कायम गर्ने उद्देश्यले एकता समाज गठन गरिएको तदर्थ समितिका अध्यक्ष गैरेले बताए ।

तदर्थ समितिको उपाध्यक्ष जगरनाथपुर गापाका वडाध्यक्ष सुभाषकुमार यादव, सचिव छिपहरमाईका वडाध्यक्ष दीपेन्द्रकुमार सिंह, सहसचिव मोजामिल मियाँ, ठोरी गापाका वडाध्यक्ष अष्टबहादुर लोप्चनलगायत सदस्यहरू छन् । आजको भेलामा पर्साका १४ वटा पालिकामध्ये १० वटा पालिकाका वडाध्यक्षहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here