प्रस, वीरगंज, १५ मङ्सिर/
‘प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं’ नाराका साथ विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीभाठामा अहमद सङ्घ नेपालको नवौं वार्षिक जलसा सालाना समारोह सम्पन्न भएको छ ।
मसरुर पब्लिक आधारभूत विद्यालयमा हिजो शुक्रवारदेखि शुरू भएको जलसा सालानाको आज शनिवार अध्यक्ष मोइन अहमदको अध्यक्षतामा समापन भएको हो । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, पकाहामैनपुर गापाध्यक्ष सुरेश महतो, जसपाका नेता तबरेज अहमद, धर्मगुरु शिख समाजका हरमिन्द्र सिंह, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजका प्रवक्ता कुबेर कुमार, क्रिश्चियन समाजका प्रेमप्रसाद घिमिरेलगायत स्थानीय जनप्रतिनिधिहरूले अहमदिया सङ्घ नेपालद्वारा विगत २७ वर्षदेखि नेपालमा शिक्षा, स्वास्थ्य तथा शुद्ध खानेपानीलगायत अन्य क्षेत्रहरूमा समाजका लक्षित वर्गहरूलाई सहयोग गर्दै आएको बताएका थिए ।
कार्यक्रममा सहभागी सबै धर्मगुरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने भन्नेबारेमा आआफ्नो विचार साझा गरेका थिए । उनीहरूले ‘प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं’ नारा कार्यक्रमस्थलमा लगाएका थिए ।
विश्वमा शान्ति स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय रहेको भन्दै विश्वभर २१६ वटा देशमा काम गर्दै आएको महमद नसीम खानले बताए । सोहीअनुरूप अहमदिया सङ्घले विन्ध्यवासिनी गापामा सार्वजनिक शैक्षिक गुठी मसरुर पब्लिक आधारभूत विद्यालयमा निश्शुल्क शिक्षा दिने कार्य गरिरहेको उनले बताए । यस जमातलाई वर्तमानमा पाँचौं (खलिफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरुर अहमदले नेतृत्व प्रदान गरिरहेका छन् । धर्मबीच कुनै भेदभाव नगरीकन मानव जातिको सेवा गर्नु यस जमातको मुख्य कार्य हो । अहमदिया जमातले हिंसा, अन्याय र आतङ्कलाई समर्थन गर्दैन कमरुल होदा अन्सारीले बताए । कार्यक्रमको सहजीकरण हासिम अहमदले गरेका थिए ।