नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो कडी यी दुई देशका सेनाबीचको घनिष्ठ एवं गहिरो मैत्रीपूर्ण सम्बन्ध पनि हो । दुवै देशका सेनाप्रमुखलाई एकअर्का देशमा मानार्थ प्रधानसेनापतिको सम्मान दिने परम्परा पनि रहिआएको छ । यसैलाई निरन्तरता दिने क्रममा दक्षिणी छिमेकी भारतका सेनाप्रमुख जनरल उपेन्द्र द्विवेदीले गत साता नेपालको भ्रमण गर्नुभयो । नेपालका राष्ट्रपति महामहिम रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभयो । नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्राप्त गरेर अभिभूत हुँदै भारतका सेनाप्रमुख द्विवेदीले यसलाई आप्mनो सौभाग्य भएको बताउनुभयो साथै दुई देशबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सैन्य सम्बन्ध थप प्रगाढ हुने विश्वास गर्नुभयो ।
भारतीय सेनाप्रमुख द्विवेदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसित प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो । उनले नेपालका रक्षामन्त्रीसित पनि भेट गर्नुभयो । उनी नेपाली सेनाप्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएको थियो । जनरल द्विवेदीले दुवै देशका तथा सेनाबीचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबूत बनाउने विषयमा पनि छलफल गर्नुभयो । भारतीय सेनाप्रमुखले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको अवलोकन गर्नुका साथै अवकाशप्राप्त गोरखा सैनिकहरूको त्याग, बलिदान एवं बहादुरीको प्रशंसा पनि गर्नुभयो । वीरता पुरस्कार प्राप्त गोरखा सैनिकहरूलाई पनि सम्मानित गर्नुभयो । उनको यस भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउने निश्चित छ । यस्ता भ्रमणहरूले हाम्रा द्विपक्षीय सम्बन्धलाई पनि बलियो बनाउने गरेको छ ।
नेपाल र भारतको सैन्य सम्बन्ध निकै पुरानो रहेको छ । पञ्जाबका राजा महाराजा रञ्जीत सिंहको समयमा पनि त्यहाँको सेनामा नेपालीहरू सहभागी थिए । त्यति बेला एकीकृत पञ्जाबको राजधानी लाहोर थियो । नेपालका भूतपूर्व प्रधानमन्त्री एवं सेनाप्रमुख माथवरसिंह थापा पनि महाराजा रञ्जीत सिंहका प्रमुख सेनापतिको रूपमा काम गरेका कुरा नेपालका इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक ‘नेपालको ऐतिहासिक रूपरेखा’मा उल्लेख गरेका छन् । अङ्ग्रेजहरूले लखनउको सिपाही विद्रोहलाई दबाउन नेपालका तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई आग्रह गरेको र गोरखा सैनिकले आएर सिपाही विद्रोह दबाउन ठूलो भूमिका निर्वाह गरेपश्चात् नै भारतीय सेनामा गोरखा भर्तिको प्रक्रिया शुरू भएको मानिन्छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गोरखा सैनिकहरूमध्ये केहीलाई लिएर अङ्ग्रेजहरूले आफूसँगै लगेका र बाँकीलाई भारतले आप्mनो सेनामा निरन्तरता दिन सहमति प्रदान गरेको कारण गोरखा भर्तिले निरन्तरता पाउँदै आएको छ । गोरखा सैनिकहरू आफ्नो धर्म–संस्कृतिप्रति निकै आस्थावान् रहेका कारण पाकिस्तानी सेनामा जान मानेनन् ।
भारत सरकारले आप्mनो सैन्य भर्तिमा नयाँ प्रणाली ‘अग्निवीर’ लागू गरेपश्चात् विगत तीन वर्षदेखि गोरखा सैनिकको भर्ना भारतीय सेनामा भएको छैन तर अब चाँडै नै यसले निरन्तरता पाउने विश्वास नेपाली युवाहरूको रहेको छ । दुवै राष्ट्र पनि यस विषयमा सक्रिय छन् ।
नेपाल र भारतबीच सन् १९५० देखि नै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान गर्ने परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहाद्र्रता कायम राख्न एउटा महŒवपूर्ण कडीको रूपमा भूमिका खेल्ने गरेको विश्वास गरिन्छ । नेपाल र भारतबीचको प्रगाढ सैनिक सम्बन्धको संवेदनशीलता र प्रगाढता राजनीतिभन्दा अलग छ । यो सम्बन्ध धेरै अघिदेखिको हो ।
विगतमा भारतीय सेनाले नेपाली सेनाको सङ्गठन पुनर्संरचनामा सघाएदेखि नै दुई देशबीचको सैनिक सम्बन्ध प्रगाढ हुँदै आएको छ । दुई सङ्गठनबीचको सम्बन्धमा कहिल्यै चीसोपन आएन । विसं २०७२ सालमा नेपालमा आएको महाविनाशकारी भूकम्पपश्चात् खोजी, उद्धार, राहत र पुनर्निर्माणमा भारत सरकार र त्यहाँको सेनाको महŒवपूर्ण सहयोग नेपाललाई प्राप्त भएको थियो । विसं २०७२ सालमा मधेस आन्दोलनका कारण सीमा नाका बाधित हुँदा पनि सीमा नाका खुलाउने विषयमा नेपाललाई सहयोग प्राप्त भएको थियो । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारको लागि एउटा सशक्त उदाहरण बनेको छ । नेपाल र भारतबीच सैनिक सम्बन्ध मात्र नभई समान खाले सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक अवस्थाले पनि जनस्तरमा समेत गहिरो र विशिष्ट सम्बन्ध छ । यसले एकअर्काबीच सहयोग, सम्बन्ध र सम्पर्कलाई बलियो नै बनाएको छ ।
भारतीय सेनामा हरेक वर्ष १५०० नेपाली युवालाई गोरखा भर्ति गरिन्छ । भारत र नेपाल (गोरखा)का सैनिकबीचको तलब सुविधा, बढुवा, पेन्सनलगायत सबै सुविधामा एक समान व्यवहार गरिन्छ । तीनजना नेपाली नागरिक भारतीय सेनामा लेफ्टिनेन्ट जनरल भएका छन् । मेजर जनरल र ब्रिगेडियर पनि भएका छन् । कर्नेल कति छन् कति ।
हाल ३० हजार जति नेपाली युवा गोरखा भर्तिमा रहेको अनुमान छ । एक लाख जति अवकाशप्राप्तले पेन्सन प्राप्त गरिरहेका छन् । यसबापत बर्सेनि ६० अर्बभन्दा बढी रुपैयाँ नेपाल भित्रिरहेको छ । अवकाशप्राप्त गोरखा सैनिकको रेखदेख, भलाई र सन्तानको शिक्षादीक्षाका लागि अनेकौं कल्याणकारी कार्यक्रम पनि भारत सरकारले चलाएको छ । नेपाल–भारत सम्बन्धको एउटा बलियो पक्ष भारतीय सेनामा नेपाली युवाहरूको भर्ति गर्ने परम्परा छ । भारतमा कार्यरत गोरखा सैनिक हाम्रो कूटनीतिक सम्बन्ध सामान्य गर्ने एउटा अङ्ग रहेको छ । भारतले अहिलेसम्म जितेका सबै युद्धमा नेपाली गोरखाको योगदान र बलिदान रहेको कुराको प्रशंसा त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गरेका छन् ।
नेपालका वामपन्थीहरूले भारतीय सेनामा गोरखा भर्तिलाई राष्ट्रिय शर्मको विषय बताउँदै आएका छन् तर विगत साढे तीन दशकदेखि सत्तामा रहेर पनि ती युवाहरूको रोजगारको बारेमा केही सोचेका छैनन् । एक दशकको सशस्त्र सङ्घर्षमा देशका हजारौं युवालाई हतियार बोक्न लगाएको माओवादी विगत दुई दशकदेखि सत्तामा रहेर पनि तिनलाई रोजगार दिन सकेन । अर्धप्रशिक्षित माओवादी लडाकूहरू हजारौंको सङ्ख्यामा छन्, तिनीहरूको भविष्य अन्धकारमय छ । विगत तीन वर्षदेखि भारतीय सेनामा नेपाली गोरखाको भर्ति भएको छैन । तिनै युवाहरू अहिले युक्रेन–रूसको युद्धमा अझै युद्धबन्दीको रूपमा छन् । मारिएका केही युवाहरूको सदगत पनि हिन्दू धार्मिक मान्यता अनुसार हुन सकेन । दैनिक दर्जनौं युवाहरूको शव बाकसमा राखेर खाडी मुलुकहरूबाट आइरहेका छन् । नेपाली चेलिबेटीको कारुणिक एवं दुःखद अवस्था जो कोहीलाई पनि विचलित बनाइरहेको छ । केवल आफ्नो, आफ्ना परिवार र नातेदारहरूको भविष्यलाई सुरक्षित बनाउनमा लागेका नेपालका नेताहरू गफ हाँक्नबाहेक केही पनि गर्न सक्दैनन् । भारतीय सेनामा गोरखा भर्तिलाई निरन्तरता दिइनुपर्छ । नेपाल सरकारले यो मार्ग खुला गरी नेपाली युवाहरूलाई मान, सम्मान र दाम कमाउने अवसर प्रदान गर्नुपर्छ ।