हरेक चीजलाई प्रयोगको हिसावले दुई कोणबाट हेर्न सकिन्छ, उपयोग र दुरुपयोग । त्यसैगरी आवश्यकताको हिसाबले पनि दुई कोणबाटै वर्गीकरण गर्नुपर्ने हुन्छ, आवश्यक र अनावश्यक । एउटै वस्तु, मानिसको उमेर, चेतनास्तर र पेशा अनुसार आवश्यक र अनावश्यक हुने प्रकृतिको नियम हो । एउटा बोटलाई बिरुवा अवस्था, डाँठ वा काण्ड बढ्ने उमेर, फल लाग्ने र पाक्ने बेला फरक किसिमको खनिज पदार्थ आवश्यक पर्छ । धानको बिरुवा हुर्काउन चाहिने युरिया, धान पसाइसकेपछि बालीमा छिटियो भने उल्टो असर गर्छ । अनावश्यक अवस्था प्राप्त स्रोतको दुरुपयोग निश्चित छ । चेतना नउठेका परिवारमा कोक्रोको बच्चालाई मोबाइल थमाइन्छ । त्यसैगरी, खाना ख्वाउँदा मोबाइल, अभिभावकलाई बरालिन मन लाग्यो वा कुनै काम प¥यो, बच्चालाई भुलाउनका लागि खेनौनाको रूपमा मोबाइल, हुँदाहुँदा सुत्ने बेलामा पनि मोबाइल नै दिने गरिन्छ । यसलाई उनीहरू आफ्नो स्तरोन्नति भएको सम्झन्छन् । प्राविस्तरका नानीबाबुलाई अरूले भन्दा गतिलो, महँगो मोबाइल किनेर दिएको कुरा हाम्रा अभिभावकहरू गर्वसाथ अरूलाई सुनाउँछन् ।

मोबाइलमा नानीबाबुले कोसँग कुरा गरिरहेका छन्, कुन सामाजिक सञ्जाल हेरिरहेका छन् । त्यसले बाल मस्तिष्कमा कस्तो असर परिरहेको छ, थाहा छैन । अधिकांश नेपाली अभिभावकको चेतनास्तर उस्तै हो । वैदेशिक रोजगारमा विप्रेषण पठाउने अभिभावहरू त उमेर नपुगेका बालबालिकालाई मोबाइल उपहार दिन हतारिन्छन् । माविस्तरभन्दा तलका विद्यार्थीका लागि मोबाइल र सामाजिक सञ्चाल जरुरी छैन । किनभने उनीहरूको पढ्ने/सिक्ने उमेर हो । विद्यालय वा ट्युशन शिक्षकको संरक्षणमा र सोपछि उनीहरू अभिभावकको संरक्षणमा हुन्छन् । विद्यालय वा घरको अनुमतिबेगर उनीहरू कतै जाँदैनन् र जान पनि हुँदैन । उनीहरूले गृहकार्य वा अध्ययनसम्बन्धी कुनै समस्या भए अर्को दिन आफ्नो शिक्षकसँग कक्षामा प्रत्यक्ष सिकाइ माग्ने हो । यो अवस्थामा किन मोबाइल र सामाजिक सञ्जाल चाहियो ? कोभिडको समयमा अनलाइन कक्षाका लागि नेपालमा पनि विद्यार्थीहरूबीच मोबाइलको प्रयोग ह्वात्तै बढ्यो । विद्यालय नखुलेको बेला अध्ययन कक्ष र विद्यार्थीबीच सम्पर्कको लागि मात्रै मोबाइल प्रयोग ठीक थियो । त्यसपछि न त अभिभावकले विचार पु¥यायो, न त विद्यालयले नै । कोभिडपछिका शैक्षिक सत्रहरूमा पढाइको स्तर खच्किंदो छ, विद्यार्थी अनुत्तीर्ण दर बढेको छ । पाँच वर्ष पहिलेको लकडाउनलाई दोष दिएर हुँदैन । गुणस्तरहीनताको मुख्य कारण विद्यार्थीको हातमा मोबाइल हो ।

किशोरकिशोरी अवस्थासम्मको उमेर, सिक्नका लागि अति आतुर र उपयोगी उमेर हो । यतिबेला जे सिकायो उनीहरू त्यही टिप्छन् । यो उमेर मोबाइलमा होइन, फिल्डमा गएर खेल खेल्ने उमेर हो । दिनभरि कोठामा थुनिएर मोबाइलमा खेलिने खेलले किशोरकिशोरीलाई मानसिक रोगी, शारीरिक दुर्बलता र गन्तव्यविहीन बनाउँछ । अपरिपक्व उमेरमा सामाजिक सञ्जालको सम्पर्कबाट गलत सङ्गतमा पुग्ने, साइबर शिकारीहरूको कब्जामा पर्ने र विभिन्न दुर्घटना निम्तिने त छँदैछ । बालबालिका तथा किशोरकिशोरीलाई मोबाइल दिनुहुन्न भन्नेमा विकसित मुलुकका अभिभावकहरू एक छन् । त्यसैले त अस्ट्रेलिया, अमेरिका, फ्रान्सलगायतका देशले सामाजिक सञ्जालको प्रयोगमा उमेर हद तोकेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here