युरोपमा मुस्लिमविरोधी भेदभावमा तीव्र वृद्धि –इयू

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

भिएन्ना, ८ कात्तिक/एएफपी
इजरायलविरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिमविरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (इयू)को अधिकार एजेन्सीले बिहीवार जनाएको छ ।

‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण शुरू भएपछि धेरै इयू राष्ट्रले मुस्लिमविरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् ।

“हमासको आक्रमणपछि मुस्लिमविरोधी घृणा र यहुदीविरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौं,” एफआरएका प्रवक्ता निकोल रोमेनले बताए ।

युरोपेली सङ्घमा लगभग दुईमध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६ मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो ।

भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ । “हामीले युरोपमा मुस्लिम समुदायविरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं,” एफआरएका निर्देशक सिर्पा राउटिओले भने ।

“यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरि देखिएको अमानवीय मुस्लिमविरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ,” राउटिओले बताए ।

सन् २०२१ को अक्टोबरदेखि सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका नौ हजार छ सयभन्दा बढी मुस्लिमको सर्वेक्षण गरिएको थियो ।

मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस