प्रस, वीरगंज, २ कात्तिक/
चालू आवको तीन महीनामा पर्सा जिल्लामा ५१ जना डेङ्गी रोगी देखा परेको स्वास्थ्य कार्यालय, वीरगंजले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गीका ५१ जना, कालाजारका दुईजना, मलेरियाका पाँचजना, जापानिज इन्सेफ्लाइटिसका दुईजनामध्ये एकजनाको मृत्यु भएको सो कार्यालयले जानकारी गराएको छ ।

यसै क्रममा स्क्रब टाइफसका आठजना बिरामी पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मलेरियाका बिरामी भारतको गुजरात र मुम्बईबाट आएकाहरूमा देखा परेको सो कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले विगत दुई वर्षयता डेङ्गीका बिरामी सङ्ख्या पर्सा जिल्लामा घट्दै गएको दाबी गरेको छ । दुई वर्ष अघि ५०० बढी डेङ्गीका बिरामी यो जिल्लामा देखिएको तर नियन्त्रणका प्रयासबाट बिरामी घट्दै गएको सो कार्यालयले जनाएको छ ।

लामखुट्टे वृद्धि हुने मौसम शुरू भएको र योसँगै त्यसबाट हुने रोगहरू पनि बढ्न सक्ने भन्दै स्वास्थ्य कार्यालयले असार महीनामा पर्सा जिल्लाका १४ वटै पालिकालाई तालीम, प्रशिक्ष्Fण दिनुका साथै प्रदेश सरकारको सहयोगमा चार महीना पुग्ने गरी बिपिआई (बायो लार्भेसाइट फेप्रिकल्स) औषधि उपलब्ध गराएको थियो । तालीमसहित सो औषधिको प्रयोग विधिबारे जानकारी गराएर वितरण गरिएको कारण पनि लामखुट्टेबाट हुने रोगमा केही नियन्त्रण भएको बताइन्छ । बिपिआई १० लिटर पानीमा २५० एमएल हालेर निकास नभएको नालालगायतका स्थानमा छर्दा लामखुट्टेको लार्भा मर्ने स्वास्थ्य कार्यालयले बताएको छ ।

रोग नियन्त्रण महाशाखाको हेटौंडास्थित कार्यालयले वीरगंजमा लामखुट्टे वृद्धि हुने स्थानको निरीक्षण गरेको थियो । तत्काल लामखुट्टे वृद्धिदर नबढेको भन्दै सो कार्यालयले सरकारले तोकेको मापदण्ड अनुसार लामखुट्टेविरुद्ध औषधि प्रयोग गर्न सुझाएको थियो ।

वीरगंज महानगरपालिकाले बिहीवारदेखि लामखुट्टेविरुद्धको अभियान शुरू गरेको छ । प्रत्येक दिन चारवटा वडालाई लक्षित गरेर बिहान र बेलुका लामखुट्टेविरुद्ध स्प्रे र फगिङ स्प्रे शुरू गरेको छ । कात्तिक २४ गतेसम्म लामखुट्टेविरुद्धको अभियान जारी रहने महानगरको सरसफाइ महाशाखाले जानकारी गराएको छ ।

वीरगंज महानगरपालिका–१ बजार छपकैयामा जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म एकजनाको मात्र मृत्यु भएको र लामखुट्टेबाट हुने अन्य रोगबाट कसैको मृत्यु नभएको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here