भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ । नेपालसँग सीमा जोडिएको बिहार राज्यमा सन् २०१६ देखि मदिरामाथि प्रतिबन्ध छ । फेरि पनि यहाँ अवैधरूपमा मदिरा उत्पादन, खरीद–बिक्री, ढुवानी, पैठारी एवं सेवन हुँदै आएको पाइन्छ । बिहारमा विषाक्त मदिरा सेवनबाट हरेक वर्ष सरदर १७० जनाको ज्यान गइरहेको तथ्याङ्क छ । प्रतिबन्धपछिको छ वर्षमा यहाँ विषाक्त मदिरा सेवनबाट एक हजारजनाको ज्यान गयो । मदिरामाथि प्रतिबन्ध भएपछि विषाक्त मदिरा पिएर ज्यान गुमाउने दर बढी छ । प्रतिबन्ध लागू हुनुअघि बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने सङ्ख्या वार्षिक ५० देखि १०० जना थियो । प्रतिबन्धपछि यो सङ्ख्या ह्वात्तै बढेको छ । भारतका गुजरात, मणिपुर, नागाल्यान्डलगायतका राज्यमा पनि मदिरा प्रतिबन्ध छ । त्यहाँ पनि विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने सङ्ख्या कम छैन ।
मदिरा प्रतिबन्ध सम्बन्धमा आजभन्दा दुई वर्ष पहिले भारतको पटना उच्च अदालतले कडा टिप्पणी गरेको थियो । अदालतले बिहार सरकार निषेधाज्ञा कानूनलाई प्रभावकारीरूपमा लागू गर्न असफल भएको भन्दै बिहारका जनताको जीवन खतरामा पारेको बताएको थियो । न्यायाधीश पूर्णेन्दु सिंहको टिप्पणीमा नक्कली मदिराले स्थान पाउने र यसले सेवनकर्ताको ज्यान लिन सक्ने भन्दै सचेत गराएको थियो । नक्कली मदिरा सेवनबाट बिरामी भएकालाई प्रदेश सरकारले उचित उपचार गर्न नसकेको पनि उल्लेख गरिएको थियो । अदालतले अवैध रक्सीमा मिथाइल मिसाइएको पत्ता लगाएको थियो । त्यसको पाँच मिलिलिटर अंश मानिसलाई अन्धो बनाउन पर्याप्त हुन्छ । हाम्रो मुलुकमा मदिरा प्रतिबन्ध छैन । यहाँ विषाक्त मदिराले कसैको ज्यान लिएको छैन, भन्ने कुरा होइन । यहाँ पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएका घटनाहरू छन् । तर स्थान अनुसार फरक छ । हिमाल, पहाडको तुलनामा तराई–मधेस, घनाबस्ती, शहर–बजार क्षेत्रमा विषाक्त मदिरा प्रयोग हुने घटना बढी छ ।
हाम्रो मुलुकमा घरेलु मदिरा प्रतिबन्ध छ । कानूनतः यसको उत्पादन, ढुवानी, पैठारी र बिक्री वितरण गर्न पाइँदैन । व्यवहारमा भने जहाँ प्रहरी प्रशासन वा सरकारको नजर पुगेको छ, त्यहाँसम्म प्रतिबन्ध छ । जहाँ सरकारको नजर पुग्दैन वा पुगे पनि देखे अनदेखा गर्नुपर्ने बाध्यात्मक अवस्थाहरूमा केको प्रतिबन्ध ? हिमाल, पहाडको चीसो वातावरणका कारण पनि त्यहाँका अधिकांश बासिन्दा घरेलु मदिरा सेवन गर्छन् । उनीहरू मिसावटरहित आफ्नै खेतबारीको अन्नबाट मदिरा बनाउँछन् । पहाडका भेंडी गोठ तथा हिमालका चौरी गोठमा घरेलु मदिरा सेवन गर्नु भनेको हामीले तराईमा चिया पिए जस्तै हो । उनीहरू लतको रूपमा नभई शरीरको ताजगी र स्फूर्तिका लागि निश्चित मात्रामा मदिरा सेवन गरिरहन्छन् । उनीहरूले आफ्नो रुचि अनुसार ढुक्क साथ स्वस्थ, गुणस्तरीय मदिरा उत्पादन गर्ने हुँदा सेवनबाट ज्यान गएको घटना सुनिंदैन । घरेलु मदिरासँग वातावरण, लोकसंस्कृति र परम्परा जोडिएको अवस्थामा सरकारले पनि केही गर्न सक्दैन । भारतको हिमाचल र अरुणाचल प्रदेशमा सरकारले तयारी गरेको योजना फेल भएको हो । जहाँ लुकेर, चोरेर, हतारमा, धेरै मदिरा उत्पादन गर्नु छ, त्यहाँ अखाद्य पदार्थ मिसावट हुन्छ । अखाद्य पदार्थ विषाक्त हुन्छ र यसको मात्रा अलि बढी भए सेवनकर्ताको तत्कालै मृत्यु हुन्छ ।