नरेश यादव, पर्सागढी, १४ असोज/
पर्सा जिल्लाका चारवटा पालिकामध्ये एउटा पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा आएको छ भने तीनवटामा अहिले पनि काम जारी छ ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका बखतमा २०७७ मङ्सिर १५ गते देशभरि ३९६ वटा पालिकामा पाँचदेखि १५ शøयाको आधारभूत अस्पताल निर्माणको लागि एकैसाथ शिलान्यास भएको थियो । पर्सा जिल्लामा पनि आधारभूत अस्पताल पटेर्वासुगौली, ठोरी, जीराभवानी र धोबिनी गाउँपालिकामा शिलान्यास गरिएको थियो । ठोरी र धोबिनी गापामा १५ शøया र पटेर्वासुगौली र जीराभवानी गापामा १० शøयाको आधारभूत अस्पताल निर्माणको लागि शिलान्यास भएको थियो । सरकारले १५ शøयाको आधारभूत अस्पताल निर्माणका लागि रु १८ करोड छ लाख र १० शøयाको लागि रु १० करोड ८३ लाख विनियोजन गरेको थियो ।
सोही अनुरूप पटेर्वासुगौली गापामा निर्मित १० शøयाको अस्पताल रु १० करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको थियो । हालै सो अस्पतालको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपछि असोज १२ गतेदेखि सञ्चालनमा आएको छ ।
१५ शøयाको अस्पतालमा तीनजना चिकित्सक, स्टाफ नर्स, कर्मचारी गरी ३० जना कर्मचारीको व्यवस्था छ भने १० शøयामा दुईजना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी २२ जनाको व्यवस्था गरिएको छ । यस अस्पतालमा बहिरङ्ग सेवा, इन्डोर, ल्याब, स्त्रीरोग, बालरोग र २४सैं घण्टा आकस्मिक सेवा सञ्चालन हुने व्यवस्था छ ।
दिन गन्तीले चार वर्ष पूरा भइसक्दा पनि पर्सा जिल्लाको एउटा पालिकामा मात्र आधारभूत अस्पताल निर्माणसम्पन्न भई सञ्चालनमा आएको छ भने ठोरी गापामा निर्माण कार्य अन्तिम चरणमा पुगी उद्घाटनको पर्खाइमा छ भने धोबिनी र जीराभवानी गरी दुईवटा पालिकामा भने आधा अधूरो निर्माण भई अहिले काम बन्द छ । आधारभूत अस्पताल निर्माण गर्न ठेक्का सकार गरेको अवधिदेखि दुई वर्षमा सम्पन्न हुनुपर्ने हो तर अर्थ अभावले ठेकेदारले गरेको कामको भुक्तानी समयमा हुन नसक्दा सो अस्पतालको निर्माण कार्य प्रभावित भएको हो ।
ठोरी गापाका प्रमुख लालबहादुर श्रेष्ठले आप्mनो पालिकामा निर्माण भइरहेको आधारभूत अस्पतालको काम अन्तिम चरणमा पुगेको बताए । उनले सो अस्पतालमा रङ्गरोगनको काम भइरहेको र सो सम्पन्न भएलगत्तै उद्घाटनको तयारीमा जुट्ने बताए ।
धोबिनी र जीराभवानी गापामा भने अस्पताल निर्माण कार्यले भने गति लिएको छैन । धोबिनी र जीराभवानीमा २० प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । धोबिनीमा निर्माण भइरहेको आधारभूत अस्पताल १५ शøयाको हो भने जीराभवानीमा १० शøयाको आधारभूत अस्पताल निर्माण हुन लागेको हो ।
ठेकेदारले काम बन्द गरेको लामो समय बितिसक्दा पनि निर्माण कार्य शुरू गर्न पहल थालिएको छैन । निर्माण कार्य रोकिनुमा पालिकाले ठेकेदारको गलती देखाइरहेको छ भने ठेकेदारले भने भुक्तानी नपाएर निर्माण कार्य रोक्नुपरेको सफाइ दिंदै आएको छ । निर्माण कार्य अगाडि बढाउन पालिकाले पहल नगरेकै कारण स्थानीय बासिन्दाले घरदैलोमा पाउनुपर्ने स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् ।
धोबिनी र जीराभवानीमा पुरानो स्वास्थ्य चौकी रहेको स्थानमा नै आधारभूत अस्पतालको निर्माण कार्य भइरहेकाले पुरानो स्वास्थ्य चौकी अन्यत्र साँघुरो स्थानमा राखिएकाले पहिलेदेखि पाउँदै आएका सेवाहरूबाट पनि वञ्चित हुन परिरहेको स्थानीय बताउँछन् । अहिले स्वास्थ्य चौकीमा सामान्य बिमारीको पनि उपचार सम्भव नभएकोले पोखरिया र नारायणी अस्पताल वीरगंज धाउनुपरिरहेको स्थानीय दुःखेसो पोखे ।