प्रस, वीरगंज, १५ असोज/
‘सम्मानपूर्ण वृद्धावस्था : ज्येष्ठ नागरिकको हेरचाह, सहयोग प्रणालीको विश्वव्यापी महŒव’ नाराका साथ वीरगंजमा पनि ज्येष्ठ नागरिक सङ्घ पर्साले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।

ज्येष्ठ नागरिक सङ्घ पर्साले दिवसको अवसरमा वीरगंज पब्लिक कलेजका विद्यार्थीहरूसँग अन्तक्र्रिया गरेर यसपटक अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको सङ्घका सचिव विनयराज गौतमले बताए ।

अन्तक्र्रियामा ज्येष्ठ नागरिक सङ्घका केन्द्रीय सदस्य एवं मधेस प्रदेश अध्यक्ष जगदीशप्रसाद शर्माले पछिल्लो समयमा नेपालमा पनि ज्येष्ठ नागरिकहरू परिवारको हेरचाहबाट वञ्चित हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले संयुक्त परिवारको अवधारणा नेपालबाट पनि हराउन थालेको र एकल परिवारको बसोबास बढ्न थालेर परिवारका ज्येष्ठ नागरिकको हेरचाह कम भइरहेको बताए । उनले जसरी बालकको हेरचाह गरिन्छ, त्यसैगरी वृद्धवृद्धाहरूको पनि गरिनुपर्नेमा त्यस्तो हुन नसक्दा अधिकांश वृद्धवृद्धाहरू तनावमा रहन थालेको बताए । उनले पितृदेव/मातृदेवको अवस्थामा अहिले कमी आउन थालेको भन्दै विद्यार्थीहरूलाई आफ्नो घरपरिवारका ज्येष्ठ नागरिकहरूलाई पनि समय दिएर माया गरिराख्न सुझाव दिए ।

कलेज सञ्चालक एवं मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले स्वागतसहित कार्यक्रमका बारेमा जानकारी गराउँदै विद्यार्थीहरूलाई ज्येष्ठ नागरिकप्रति कसरी उत्तरदायी बनाउने भन्ने उद्देश्यले अन्तक्र्रिया आयोजना गरिएको बताए । उनले घरका ज्येष्ठ नागरिकहरूको हेरचाहमा विद्यार्थीहरूको भूमिका प्रभावकारी हुने बताए । नातिनातिनीहरूले हजुरआमा, हजुरबुबाको ख्याल राख्दा आमाबुबाहरू पनि जिम्मेवार बन्ने बताए । कतिपय आमाबुबाहरूबाट पनि नातिनातिनीहरू ज्येष्ठ नागरिकप्रति उत्तरदायी बन्ने गरेको बताए । उनले आफूभन्दा वृद्धवृद्धाको सेवा गर्ने परिवारका सदस्यहरूले सोही बमोजिमको संस्कार पाउने हुँदा सकभर सबैले ज्येष्ठ नागरिकहरूलाई माया, सम्मान दिएर पाल्नुपर्ने र यस्तो भएको खण्डमा हाम्रा समाजका ज्येष्ठ नागरिकहरू खुशी हुने बताए ।

सहभागी विद्यार्थीहरूमध्येका वक्ताहरूले घरमा ज्येष्ठ नागरिक, अग्रजहरूको सम्मान गर्दै आएको बताए । उनीहरूले आमाबुबालाई बिहान शुभप्रभात र राति शुभरात्रि भन्ने गरेको चर्चा गरे । एकजना विद्यार्थीले आमा अशक्त भएकी र उनको सबैखाले हेरचाह आफूले गर्दै आएको बताए । बिहान घुमाउने, चिया नास्ता गराउने, लुगा धुने, खाना पकाउने र अध्ययनका लागि कलेज आउने गरेको बताए ।

ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रमेश दत्त, रामानन्द कुर्मी, सुरेन्द्रलाल श्रेष्ठ, कुलोत्तम पोखरेललगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण वासु कर्णले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here