प्रस, वीरगंज, १५ असोज/
वीरगंज महानगरपालिका वडा नं११ र २४ रानीघाट–रामगढवा जोड्ने श्रीसिया नदीको पुलबाट गत आइतवार बिहान फाल हालेर आत्महत्या गरेकी १६ वर्षीया राधिका दासको शव मङ्गलवार बिहान फेला परेको छ ।

नदीमा पानीको सतह बढेको बखत पुलबाट बिहान ९ बजेतिर राधिकाले एक्कासि फाल हालेर आत्महत्या गरेकी थिइन् । उनलाई सुरक्षाकर्मीहरूको उद्धार टोलीले स्टीमरबाट खोजी कार्य गरे पनि भेटिएको थिएन । आज बिहान नदीमा पानीको सतह कम भएपछि राधिकाको शव होलील्यान्ड स्कूलनजीक श्रीसिया नदीको किनारामा फेला परेको हो ।

बिहान युवतीको शव फेला परेपछि प्रहरी परिचालित भएर शवको सनाखत गरिएको थियो । असोज १३ गतेको यो घटना भएको तीन दिनपछि शव बरामद भएको हो । राधिकाले एक्कासि नदीमा फाल हालेर आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । तर स्थानीयले भने व्यक्तिगत विवाद बढेर राधिका अवसादले ग्रस्त भएपछि बाढी आएको श्रीसिया नदीमा फालेर हालेर आत्महत्या गरेको बताएका छन् ।

घटनापछि विवाद भएको भनिएको केटा पनि बेपत्ता भएका छन् । बेपत्ता केटाकी आमाले स्थानीय प्रहरी चौकीमा छोरा हराएको मौखिक जानकारी गराएको बुझिन आएको छ । तर पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले आफूसमक्ष त्यस्तो कुनै घटना विवरण नआएको बताए ।

प्रहरीले घटनापछि राधिकाकी आमा मन्तुरा देवीसँग सोधपूछ गरेको थियो । तर आत्महत्याको कारण भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरिसकेको भने छैन । मृतक राधिका बारा जिल्ला प्रसौनी गापा–२ खुटुवा प्रसौनी निवासी हुन् र उनी केही समयदेखि आमासँगै वीरगंजमा बस्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here