प्रस, सप्तरी, १५ असोज/
शङ्कर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तासहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडांैमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको शौचालय निर्माणका लागि आव २०७१/७२ मा निकासा भएको पहिलो किस्ता प्रअ गुप्ताले हिनामिना गरेको, विद्यार्थीका नाममा विभिन्न शीर्षकमा आएको छात्रवृत्ति कम विद्यार्थीलाई बाँडेको, आव २०७३/७४ मा निकासा भएको पिसिएफ अनुदानबापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरीदमा अनियमितता गरी विगत पाँच वर्षदेखि विद्यालयको आय–व्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको आरोप लगाउँदै प्रअ गुप्ताविरुद्ध उजूरी परेको थियो । उक्त उजूरीमाथि अख्तियारले छानबीन गर्दा आरोप सही सत्य ठहर भएकोले सो ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विद्यालयको शौचालय निर्माणमा ६२ हजार ५८३ रुपैयाँ, छात्रवृत्ति रकममा तीन लाख १० हजार चार सय रुपैयाँ, पाठ्यपुस्तकको रकम एक लाख २६ हजार २४७ रुपैयाँ र पिसिएफ शिक्षक तलबभत्ता एक लाख ५० हजार ६८६ रुपैयाँ प्रअ गुप्ताले आफ्नो कार्यकालमा निकासा लिई मनोमानी ढङ्गले खर्च गरी भ्रष्टाचार गरेको देखिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
त्यसैगरी, सो माविका मुखिया श्रवणकुमार चौधरीले प्रअ गुप्तासँग मिलेर छात्रवृत्ति रकम तीन लाख १० हजार ४०० रुपैयाँ, पिसिएफ शिक्षक तलबभत्ताको एक लाख ५० हजार ६८६ रुपैयाँ निकासा रकम मनोमानी गरेको र पाठ्यपुस्तकको नक्कली बिलसमेत बनाएर एक लाख २६ हजार २४७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । चौधरीसँग अख्तियारले पाँच लाख ८७ हजार ३०० रुपैयाँ बिगो असुल उपर माग गरेको छ ।
शङ्कर माविकै शिक्षक ह्दयराम चौधरीले शौचालय निर्माणका लागि निकासा भएको दुई लाख रुपैयाँको चेकमा दस्तखत गरेको र उक्त निकासा भएको रकमबाट एक लाख ३७ हजार ४१६.६४ रुपैयाँ मात्र स्थलगतरूपमा काम भएको देखिएकोले ६२ हजार ५८३ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको जनाइएको छ ।